काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पुरानै दलका नेताहरुलाई पार्टीभित्र भित्र्याएर करोडौं रुपैयाँको चलखेलमा टिकट वितरण गरेको आरोप जेन्जी अभियन्ता कृष्ण मोहन सहनीले लगाएका छन्।
उनले यस्तो कार्यशैली पुराना दलभन्दा समेत बढी जनताका लागि घातक हुने बताएका छन्।
सहनीका अनुसार परिवर्तन र नयाँ राजनीतिक संस्कृतिको नारा दिएर उदाएको रास्वपाले व्यवहारमा भने पुरानै दलको गलत प्रवृत्ति अंगालेको देखिएको छ। “पुराना दलका नेताहरुबाट आजित भएर जनता वैकल्पिक शक्तिको खोजीमा थिए, तर रास्वपाले पनि तिनै पात्रहरुलाई करोडौंको चलखेलमार्फत टिकट बेच्नुले जनताको भरोसामाथि ठूलो धोका दिएको छ,” उनले भने।
उनले रास्वपाले पैसाको आधारमा टिकट वितरण गरेको गम्भीर आरोप लगाउँदै यसले राजनीतिमा सुधार होइन, झनै विकृति बढाउने बताए। सहनीका अनुसार पैसावाल र पहुँच भएका व्यक्तिलाई मात्र अवसर दिने प्रवृत्तिले इमानदार, संघर्षशील र नयाँ पुस्ताका युवाहरु राजनीति बाट विस्थापित हुने खतरा बढेको छ।
जेन्जी अभियन्ता सहनीले रास्वपाले आफूलाई पुराना दलभन्दा फरक देखाउन खोजे पनि व्यवहारमा झनै खतरनाक बाटो रोजेको टिप्पणी गरे। “पुराना दल खुल्लमखुल्ला बदनाम भइसकेका छन्, तर नयाँको आवरणमा पुरानै खेल खेल्नु झनै घातक हुन्छ,” उनले भने।
अन्त्यमा उनले राजनीतिक दलहरुलाई पैसामुखी राजनीति त्यागेर सिद्धान्त, योग्यता र जनताको चाहनालाई प्राथमिकता दिन आग्रह गरे। अन्यथा जनताले फेरि एकपटक ठूलो धोका खाने अवस्था आउने चेतावनी समेत उनले दिएका छन्।