Artha Update
नेभिगेशन

काठमाडौँ । जेन्जी अभियन्ता कृष्ण मोहन सहनीले सहकारी ठगी प्रकरणमा मुछिएका व्यक्तिहरूसँग राजनीतिक तथा सार्वजनिक व्यक्तित्वहरूको बढ्दो निकटताप्रति गम्भीर आपत्ति जनाएका छन्। उनले यस्तो प्रवृत्तिले राजनीतिक नेतृत्वको नैतिकता र दोहोरो चरित्र उजागर हुने भन्दै कडा प्रश्न उठाएका हुन्।

सहनीले सार्वजनिक रूपमा आक्रोश व्यक्त गर्दै भने, “हत्यारासँग एउटै मञ्चमा बसेर खुला बहस गर्न नसकिने हो भने सहकारी ठगसँग अङ्गालो हानेर सँगै हिँड्नु के हो? यसको जवाफ जनता जान्न चाहन्छन्।”

उनका अनुसार सहकारी ठगीजस्ता आर्थिक अपराधले हजारौँ सर्वसाधारणको बचत, विश्वास र भविष्यमा गहिरो चोट पुर्‍याएको छ। यस्तो गम्भीर विषयमा मौन बस्नु वा आरोपित व्यक्तिहरूसँग नजिकिनु पीडितहरूप्रति अन्याय र अपमान सरह भएको उनले बताए।

प्रधानमन्त्रीको उम्मेदवारसमेत जनताका प्रश्नबाट पछि हट्नु नेतृत्वप्रतिको आशा गुमाउनु जस्तै भएको सहनीको भनाइ छ। उनले चेतावनी दिँदै भने, जवाफदेहीताविहीन गतिविधिले देशलाई झन् संकटतर्फ धकेल्न सक्छ, जबकि जवाफदेहीताले नै असल नेतृत्व जन्माउँछ।

अभियन्ता सहनीले राजनीतिक नेतृत्वलाई अपराध र अपराधीसँग स्पष्ट दूरी कायम गर्न, पीडित जनताप्रति जिम्मेवार बन्न र नैतिक दायित्व निर्वाह गर्न आग्रह गरेका छन्। उनले यस्ता गतिविधि निरन्तर रहिरहे जनआक्रोश बढ्ने र सार्वजनिक विश्वासको संकट अझ गहिरिने चेतावनी पनि दिएका छन्।

यस विषयमा सम्बन्धित नेताहरू वा आरोपित पक्षबाट हालसम्म कुनै औपचारिक प्रतिक्रिया आएको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय