बारा । कृष्ण मोहन सहनी ले आफूले कुनै प्रकारको बिरोध नगरेको स्पष्ट पार्दै केवल जनताको पक्षमा प्रश्न मात्र उठाएको बताएका छन्।
बारा निर्वाचन क्षेत्र नं.–४ अन्तर्गत प्रसौनी टोलमा आयोजित घरदैलो कार्यक्रमका क्रममा प्रश्न उठाउँदा माहोल केही समयका लागि तातिएको थियो।
घरदैलोको क्रममा सहनी र उनका समर्थकहरूले स्थानीय मुद्दा र जनचासोका विषयमा जिज्ञासा राख्दा उपस्थित पक्षबीच भनाभन भएको बताइएको छ।
त्यसपछि सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी हुन थालेपछि सहनीले भावुक सन्देश जारी गर्दै भने, “मैले बिरोध गरेको होइन, मैले केवल प्रश्न गरेको हो। यदि मेरो प्रश्नका कारण अराजकता भएको महसुस गरिएको छ भने म त्यसका लागि क्षमा प्रार्थी छु।”
उनले लोकतन्त्रमा प्रश्न उठाउनु नागरिकको अधिकार भएको उल्लेख गर्दै आफू सधैं शान्तिपूर्ण र मर्यादित संवादको पक्षमा रहेको बताए।
“मेरो उद्देश्य कसैको अपमान गर्नु होइन, जनताको आवाज उठाउनु हो,” उनले स्पष्ट पारे।
स्थानीय स्रोतका अनुसार, घटनापछि स्थिति सामान्य बनेको छ। राजनीतिक गतिविधि बढ्दै जाँदा क्षेत्रीय माहोल संवेदनशील बन्दै गएको देखिएको छ।
सहनीको पछिल्लो अभिव्यक्तिलाई कतिपयले जिम्मेवार कदमका रूपमा लिएका छन् भने कतिपयले यसलाई राजनीतिक दबाबको परिणामका रूपमा व्याख्या गरेका छन्।
यस घटनाले चुनावी माहोलमा संवाद र सहिष्णुताको आवश्यकता झनै महत्त्वपूर्ण रहेको सन्देश दिएको छ।