अछाम। अछामको ढकारी गाउँपालिकामा नेकपा (एमाले)को पक्षमा माहोल तातिँदै गएको छ। आगामी निर्वाचनलाई लक्षित गर्दै क्षेत्र नं. २ का उम्मेदवार यज्ञ बहादुर बोगटीको समर्थनमा विभिन्न दल परित्याग गरी एमाले प्रवेश गर्नेहरूको लहर बढ्दो देखिएको हो।
एमालेको मार्गनिर्देशक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ तथा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वबाट प्रभावित हुँदै ढकारी गाउँपालिका–३ मा नेपाली कांग्रेसका केही प्रभावशाली स्थानीय नेताहरूले पार्टी त्याग गरी एमाले रोजेका छन्।
हिजो आयोजित एक कार्यक्रममा कांग्रेस परित्याग गर्दै राम बहादुर बुढा, डम्मर बुढा, पदम बहादुर बुढा, गोरख बुढा र जहरी बुढा एमालेमा प्रवेश गरेका हुन्। उनीहरूलाई जिल्ला कमिटी उपसचिव टोपबहादुर शाहीलगायतका नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए।
एमाले प्रवेश गर्ने नेताहरूले ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानप्रति ऐक्यबद्धता जनाउँदै विकास र स्थायित्वका लागि एमाले रोजेको बताएका छन्। उनीहरूले ढकारीमा विकासका कामलाई तीव्रता दिन एमाले नेतृत्व आवश्यक रहेको धारणा राखेका छन्।
ढकारी–३ लाई नेपाली कांग्रेसको बलियो गढ मानिँदै आए पनि पछिल्लो समय देखिएको राजनीतिक ध्रुवीकरणले स्थानीय तहमा समीकरण बदलिएको विश्लेषण गर्न थालिएको छ। एमाले कार्यकर्ताहरूले यसलाई आगामी निर्वाचनको जितको स्पष्ट संकेतका रूपमा लिएका छन्।
ढकारीमा देखिएको यो पछिल्लो जनलहरले अछाम क्षेत्र नं. २ को चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाएको छ।