अछाम । काठमाडौं केन्द्रित जारी शिक्षक आन्दोलनले देशभरको शैक्षिक वातावरणमा असर परिरहेको अवस्थामा अछामको ढकारी गाउँपालिकाले विज्ञप्ति जारी गर्दै चासो व्यक्त गरेको छ।
गाउँपालिका अध्यक्ष प्रकाश बहादुर साउदद्वारा जारी विज्ञप्तिमा संविधान कार्यान्वयन भएको नौ वर्ष बितिसक्दा पनि संघीय संरचना अनुरूपको शिक्षा ऐन बन्न नसकेकोप्रति गहिरो चिन्ता व्यक्त गरिएका छन् ।
“सङ्घीयता कार्यान्वयनसहितको नयाँ शिक्षा ऐन निर्माणमा ढिलाइ हुनु, शिक्षकहरूबीचको विभेद कायम रहनु, पेशागत असुरक्षाको अनुभूति हुनु र पटक–पटक भएका सहमति कार्यान्वयन नहुनु अत्यन्तै दुःखद छ,” विज्ञप्तिमा भनिएको छ। अध्यक्ष साउदले सरकारले शिक्षकहरूका जायज माग तत्काल सम्बोधन गर्न र संविधान र व्यवस्थाप्रति सिर्जिएको असन्तोषलाई सम्बोधन गर्न आग्रह गरेका छन्।
विज्ञप्तिमा हाल जारी आन्दोलनले विद्यालय परीक्षाको सञ्चालन, नतिजा प्रकाशन र विद्यार्थी भर्ना जस्ता कार्यहरू प्रभावित भएका र वालवालिकाको मौलिक हकमा समेत गम्भीर असर परेको जनाइएका छन्।
ढकारी गाउँपालिकाले नेपाल सरकार र सम्बद्ध राजनीतिक दलहरूलाई सहमतिमार्फत शिक्षकलाई विद्यालय फर्काउने वातावरण तत्काल तयार गर्न जोडदार माग गरेको छ। साथै, शिक्षकहरूका जायज मागप्रति ऐक्यवद्धता रहेको समेत स्पष्ट पारेको छ।