अछाम । लामो समयदेखि विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका नेकपा एमाले अछामका युवा नेता निरक शाहीले उपसचिव पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
अनेरास्ववियु अछामका पूर्वअध्यक्ष तथा तुर्माखाँद गाउँपालिका वडा नम्बर ८ धमालिका वडाध्यक्ष समेत रहेका शाहीले आफू संगठन र नेतृत्व क्षमताका हिसाबले उपसचिव पदका लागि सबैभन्दा बलियो उम्मेदवार रहेको दाबी गरेका छन् ।
२०६२ सालदेखि विद्यार्थी आन्दोलनमा सक्रिय रहेका शाही २०७६ देखि २०८० सम्म अनेरास्ववियु केन्द्रीय समिति सदस्य हुँदै सचिवालय सदस्यसम्मको जिम्मेवारीमा पुगेका थिए । उनले विद्यार्थी संगठनमा काम गर्दा संगठन विस्तार, नीति निर्माण र आन्दोलन सञ्चालनमा उल्लेख्य भूमिका निर्वाह गरेका थिए ।
नेपाली राजनीतिमा युवा पुस्ताको आशा लाग्दो नेताका रुपमा चिनिएका शाही हाल पार्टीभित्र विद्यार्थी संगठन समन्वयको महत्वपूर्ण जिम्मेवारी सम्हालिरहेका छन् । संगठन निर्माणमा उनको सक्रियता र योगदान प्रशंसनीय मानिन्छ । स्वच्छ छवि र स्पष्ट दृष्टिकोण भएका शाही पार्टीभित्र सबै तहका कार्यकर्तामाझ लोकप्रिय छन् ।
शाही नेतृत्व चयन प्रक्रियामा सर्वसम्मतिको पक्षमा रहेको बताउँछन् । “संघर्ष र सहमति दुवै आवश्यक हुन्छ, तर नेतृत्व सर्वसम्मत ढंगले चयन भयो भने पार्टी एकता बलियो हुन्छ,“ शाहीले भने ।
वडाध्यक्षको रुपमा निर्वाचित भएपछि शाहीले आफ्नो वडामा एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका थिए । स्थानीय विकास निर्माणका काममा पनि उनले उल्लेखनीय तिब्रता देखाएका छन् । सडक सुधार, खानेपानी आयोजना र सामुदायिक भवन निर्माणमा उनले अगुवाइ गरेका छन् । वडावासीले उनको नेतृत्व र कामको खुलेर प्रशंसा गरेका छन् ।
शाही ८औं जिल्ला अधिवेशनमा लोकप्रिय मतका साथ जिल्ला कमिटी सदस्यमा निर्वाचित भएका थिए । त्यसयता संगठन सुदृढीकरण र युवाहरूलाई राजनीतिमा जोड्न निरन्तर प्रयासरत छन् ।
नेकपा एमाले अछामको आसन्न ९औँ अधिवेशनबाट नेतृत्व चयनमा शाहीको उम्मेदवारी पार्टीभित्र विशेष चासोको विषय बनेको छ । युवा पुस्ताबाट आएका उनीजस्ता नेता उपसचिव जस्तो जिम्मेवारीमा आउनु पार्टीको भविष्यका लागि सकारात्मक रुपमा हेरिएको छ ।