काठमाडौं। नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर विश्व पौडेलले बैंक सुपरिवेक्षण विभागमा दीर्घबहादुर रावललाई ल्याएका छन्। रावललाई हिजोमात्र बढुवा गरिएको थियो। रावललाई बढुवा भएको भोलिपल्टै बैंकको शक्तिशाली एवं महत्वपूर्ण विभागको जिम्मेवारी सुम्पिएपछि गभर्नर पौडेलको कार्यशैलीमाथि प्रश्न उठेको छ।
सुदूरपश्चिमका रावल शेर बहादुर देउवा निकट मानिन्छन्। रावलको बढुवा र बढुवाको भोलिपल्टै सुम्पिएको महत्वपूर्ण जिम्मेवारीलाई दलगत स्वार्थसँग जोडेर गभर्नरको टिप्पणी हुन थालेको छ।
गभर्नर पौडेलले बैंक सुपरिवेक्षण विभागको जिम्मेवारी सम्हालिरहेका कार्यकारी निर्देशक रामु पौडेललाई हटाएर रावललाई नियुक्त गरेका हुन्। कार्यकारी निर्देशक पौडेललाई मुद्रा व्यवस्थापन विभागमा सरुवा गरिएको छ।
नियामक निकाय राष्ट्र बैंकको महत्वपूर्ण विभाग हेरिरहेका प्रमुखहरुलाई छोटो समयमै अर्को विभागमा सरुवा गरिनुले बैंकको कार्यसम्पादन प्रभावकारी नहुने र यसले वित्तीय प्रणालीमा समेत नकारात्मक असर पार्ने भन्दै बैंकभित्रै गभर्नरको आलोचना सुरु भएको छ।
गभर्नर पौडेलले दलगत स्वार्थमै केपी ओलीको निर्देशन अनुरुप युवराज खतिवडाका छोरीज्वाई रामशरण खरेललाई पनि नियमविपरित बढुवा गरेका थिए। त्यसको भोलिपल्टै राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागको महत्वपूर्ण जिम्मेवारी सम्हालिरहेका डा. गुणाकर भट्ट हटाएर खरेललाई नियुक्त गरेका थिए।