काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी सांसद तोशीमा कार्कीले
उपनिर्वाचनमा सहभागी भएकालाई धन्यवाद दिएकी छन् ।
यहि मङ्सिर १६ गते सम्पन्न भएको स्थानीय सरकारको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट २५ स्थानमा उम्मेदवारी दिनुहुने सम्पूर्ण घन्टीवाहक उम्मेदवारहरूलाई मेरो व्यक्तिगत र समग्र राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट धन्यवाद दिन चाहन्छु।
यस चुनावमा, हामीले काठमाडौंको वार्ड १६ मा जित हासिल गर्यौं र अन्य स्थानहरूमा पनि हामी निकै सक्रिय तरिकाले सहभागि भयौँ।
यस उपनिर्वाचनमले शहरमा मात्र होइन, गाउँगाउँमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीको उपस्थिती पुग्ने माहोल सृजना गर्यो। भनिन्छ नि, सुरुवात नै सफलताको पहिलो पाईला हो। अर्को ठूलो जमात संघर्षको सुरुआत गर्ने बारेमा अन्योलमा अलमलिरहँदा तपाईंहरूले हिम्मत जुटाएर यो यात्रा सुरु गर्नुभयो। सहभागी हुनुभयो। प्रतिस्पर्धामा उत्रनुभयो। तपाईंहरूको साहस र सहभागिताले आधा यात्रा पूरा गरेको छ।
यति मात्र नभई, भौगोलिक बनावट र सकसपूर्ण राजनितीले जगडिएका दुरदराजका गाउँ-गाउँमा पुग्न महिनौं लाग्न सक्ने राष्ट्रिय स्वतन्त्र पार्टीको पहिचान र घन्टी चिन्हलाई तपाईंहरूको सहभागिता र सक्रियताले यो प्रक्रिया धेरै सजिलो र प्रभावकारी बनाएको छ। आज देशभरि पार्टीको विस्तारको वातावरण बनिरहेको छ, र तपाईंहरूको साहस र सहभागिताले यो परिवर्तनलाई बलियो बनाएको छ।
संख्यामा हार-जीत एक ठाउँमा छ , तर तपाईंहरूको संघर्ष र हिम्मतले समग्र रुपमा पार्टीलाई विजयी बनाएको छ। घन्टी चुनाव चिन्हमा परेको प्रत्येक मत एउटा सकारात्मक झिल्को हो जसले ८४ मा यो देशलाइ चुसेर खोक्रो बनाएका राजनितिक पार्टीलाइ लपेट्नेछ र देखाउनेछ समाजिक राजनैतिक र आर्थिक रुपान्तरण को निलो क्रान्तिले कोर्ने उज्यालो बाटो।
समग्र सत्ता दलबल शक्ति लागेर यो नयाँ पार्टीको घाँटी निमोठ्ने प्रयास भईरहँदा देशैभरिबाट घन्टी चुनाव चिन्हमा परेको प्रत्येक मतले हामीलाई “नडराउ राष्ट्रिय स्वतन्त्र पार्टी ८४मा तिमीले यो देशलाई दिशा निर्देश गर्नुपर्छ, नडराऊ, अघि बढ, लड, हामी जनता तिम्रो साथमा छौँ” भन्ने हौसला दिएको छ। सम्पूर्ण नेपाली दाजुभाइ र दिदीबहिनीहरूको हौसला र समर्थनले हामीलाई अहिले मात्र नभई भविष्यका दिनहरूमा पनि तयार रहन प्रेरित गरेको छ।
वडादेखि केन्द्रीय तहसम्मका घन्टी मित्रहरूले जसरी आफ्नै स्रोत, साधन र समय खर्च गरेर उपनिर्वाचनको प्रचारमा योगदान दिनुभयो, त्यसका लागि यहाँहरु सम्पूर्णलाई विशेष धन्यवाद दिन चाहन्छु। यसैगरि, पार्टीको निर्माण र विस्तारको नयाँ चरणमा हामी प्रवेश गरिरहेका छौं, र तपाईंहरूको निरन्तर सक्रियता र सहभागिताले पार्टीलाई अझ बलियो बनाउनेछ भन्ने विश्वास राख्छु।
मलाई विश्वास छ, हामी सबै मिलेर परिवर्तनको यो यात्रालाई सफल बनाउनेछौँ।