काठमाडौं । अछामको बयालपाटा अस्पताललाई विशेष अनुदान प्रदान गरी गरिब, विपन्न तथा पछाडि पारिएका जनताका लागि निःशुल्क स्वास्थ्य सेवा निरन्तरता दिनुपर्ने मागसहित प्रतिनिधि सभामा ध्यानाकर्षण प्रस्ताव दर्ता गरिएको छ।
प्रतिनिधि सभा सचिव हर्कराज राईसमक्ष उक्त प्रस्ताव नेकपा (एकीकृत समाजवादी) का सचिव तथा प्रतिनिधि सभा सदस्य माननीय शेर बहादुर कुँवर, नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य माननीय दयाल बहादुर शाही र नेपाली कांग्रेस अछाम जिल्ला सभापति तथा प्रतिनिधि सभा सदस्य माननीय पुष्प बहादुर शाहले संयुक्त रूपमा पेस गरेका हुन्।
तीन सांसदहरूले बयालपाटा अस्पतालले वर्षौँदेखि राज्यको सहयोगबिना नै हजारौँ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको भन्दै सम्मानित सदनमा यस विषयमा गम्भीर बहस हुनु आवश्यक रहेको बताए।
बयालपाटा अस्पतालले सुदूरपश्चिमका दुर्गम भेगमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। तर, अस्पतालको वित्तीय अवस्था कमजोर बन्दै गएपछि निःशुल्क सेवा निरन्तरता दिन कठिनाइ भइरहेको छ। यस अवस्थामा सरकारले विशेष अनुदानको व्यवस्था गर्नुपर्ने सांसदहरूको धारणा रहेको छ।
यस प्रस्तावले सरकारलाई बयालपाटा अस्पताल जस्ता दुर्गम भेगका स्वास्थ्य संस्थाहरूलाई सहयोग गर्न उत्प्रेरित गर्ने अपेक्षा गरिएको छ। अब सरकार र संसद्ले यस विषयमा कस्तो निर्णय लिन्छन् भन्ने विषय चासोको रूपमा हेरिएको छ।