अछाम। ढकारी गाउँपालिकाको पशु सेवा शाखाले वडा नम्बर ३ का विभिन्न टोलमा पशु स्वास्थ्य तथा खोप शिविर सञ्चालन गरेको छ। शिविरमार्फत ३१५ जना किसानका ३ हजार ५२२ पशु चौपायालाई विभिन्न खोप लगाइएको हाे ।
शिविरमा बाख्रा, गाई, गोरु, भैंसी तथा कुकुरलाई पीपीआर, लम्पी स्किन, खोरेत तथा रेबीजविरुद्धको खोप प्रदान गरिएको थियो। पशु सेवाका प्राविधिकहरूको सक्रिय संलग्नतामा सम्पन्न उक्त शिविरले किसानहरूलाई पशु रोग नियन्त्रण तथा रोकथामका उपायहरूबारे आवश्यक जानकारीसमेत दिएको थियो।
पशु सेवा शाखाका अनुसार गाउँपालिकाभित्र पशुहरूलाई लाग्ने संक्रामक रोगहरू नियन्त्रण गर्न नियमित रूपमा खोप कार्यक्रम सञ्चालन गरिँदै आएको छ। यसपटकको शिविरमा किसानहरूको उल्लेखनीय सहभागिता रहेको र यसले गाउँपालिकाभित्र पशुहरूको स्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
स्थानीय किसानहरूले शिविरप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका छन्। ढकारी गाउँपालिकाले पशुपालन व्यवसाय प्रवर्द्धन तथा पशु स्वास्थ्य सुधारका लागि यस्ता अभियानलाई प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता जनाएको छ।