अछाम ।अछामको तुर्माखाँद गाउँपालिका र गोरख बक्स गण मंगलसेन ब्यारेक अछामको संयुक्त आयोजनामा नमुना घटना अभ्यास सम्पन्न भएको छ। विपद् व्यवस्थापन तथा आपत्कालीन उद्धार कार्यमा स्थानीय तह र सुरक्षाकर्मीबीच समन्वय वृद्धि गर्ने उद्देश्यले उक्त अभ्यास आयोजना गरिएको हो।
गाउँपालिकाको केन्द्रमा आयोजित उक्त अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय जनप्रतिनिधि तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। आपत्कालीन अवस्थामा खोज तथा उद्धार, प्राथमिक उपचार, खाद्य तथा आश्रय व्यवस्थापन जस्ता विषयमा अभ्यास गरिएको थियो।
गोरख बक्स गण मंगलसेन ब्यारेकका प्रमुख अधिकृतले यस्तो अभ्यासले विपद् व्यवस्थापनमा तयारी सुदृढ पार्न सहयोग गर्ने बताए। त्यस्तै, तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बिसीले स्थानीय तहको तयारीलाई प्रभावकारी बनाउन आगामी दिनमा यस्ता अभ्यासलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
स्थानीयवासीले समेत यस अभ्यासलाई सकारात्मक रुपमा लिएको र विपद्को समयमा समुदायले खेल्ने भूमिकाबारे महत्त्वपूर्ण जानकारी प्राप्त भएको बताएका छन्।