काठमाडौं । नक्सालस्थित नेपाल बाल मन्दिर जग्गा भाडा प्रकरणमा शहरी विकासमन्त्री प्रकाशमान सिंहकी दिदी रिता सिंह वैधसहित १७ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले बुधबार जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । वैद्य नेपाल बाल संगठनको लामो समय अध्यक्ष भएको बेला भाडामा दिने पूर्वसम्झौता नसकिँदो अर्को लामो सम्झौता गरेर संगठनको जग्गा भाडामा दिने निर्णय भएको थियो ।
प्रकरणमा विशाल समूहसम्वद्धसहित ठूला व्यापारीहरुसमेत मुछिएका छन् । सरकारी वकिलले मुद्दा दर्ता गर्दै ६० करोड बढी रकम मागदाबी गरेको छ । यस प्रकरणमा तत्कालिन गृहमन्त्री रवि लामिछानेकै समयमा प्रहरीले संलग्नहरुलाई पक्राउ गर्न वारेन्ट जारी गरे पनि अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन् ।
बाल मन्दिरको जग्गा लिजमा दिने निर्णयमाथि अनुसन्धानपछि प्रहरीले फाइल पेश गरेको थियो भने जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा चलाउन नपर्ने सिफारिस गरेको थियो ।
नेपाल राष्ट्र बैंकको गभर्नरमा नेपाली कांग्रेसले आफ्नो पार्टीनिकट गुणाकर भट्टलाई नियुक्ति गर्न प्रधानमन्त्री केपी ओलीलाई दबाब दिइरहेको बेला ओलीले बार्गेनिङको लागि बालमन्दिर जग्गा भाडा प्रकरणको मुद्दा अघि बढाउन आफ्नो पार्टीसम्वद्ध महान्यायाधीवक्ता रमेश बडालललाई निर्देशन दिएको हुनसक्ने अडकल गरिएको छ ।
विपक्षी बनाइएकामध्ये तीन जना भारतीय छन् । भारतीय नागरिकहरूमा ४४ वर्षीय अभिनव सिंघानिया, ४४ वर्षीय सिद्धार्थ केडिया र ७१ वर्षीय कीर्तिप्रसाद पाण्डेय छन् । तीनै जना बृहस्पति विद्यासदनका सञ्चालक हुन् ।
सिंघानिया काठमाडौं महानगरपालिका ४ स्थित बालुवाटार, केडिया ललितपुर महानगरपालिका स्थित सानेपा र पाण्डेय काठमाडौं महानगरपालिका ३० स्थित ज्ञानेश्वरमा बस्दै आएका छन् ।
सिंघानियाको स्थायी घर भारतको दिल्ली हो भने केडिया र पाण्डेयको स्थायी घर राजस्थानको जयपुर हो । पाण्डे राई स्कुलका प्रिन्सिपल पनि हुन् । बालमन्दिरको नाममा रहेको ११९ रोपनी १२ आना ३ पैसा जग्गामध्ये २८ रोपनी ५ आना १ पैसा हाल वृहस्पति विद्या सदनले भाडामा लिएको छ । वृहस्पतिले भाडामा लिएकोमध्ये ५ रोपनी जग्गा राई स्कुललाई २०७६ सालदेखि भाडामा दिएको थियो ।
२०५९ सालमा उक्त जग्गा २०८९ सालसम्म भाडामा लिनेदिने सम्झौता भए पनि उक्त अवधि सकिन १७ वर्ष बाँकी हुँदै २०७२ साल साउन ३ गते थप ३८ वर्षका लागि सो जग्गा वृहस्पति विद्या सदनले भोगचलन गर्न पाउने गरी सम्झौता भएको थियो ।
पछिल्लो सम्झौता अनुसार यो जग्गा वृहस्पति विद्या सदनले २१२७ सालसम्म उपभोग गर्न पाउने देखिएको छ । भाडादर प्रतिरोपनी जम्मा तीन लाख ९३ हजार रुपियाँका दरले २८ रोपनीभन्दा बढी जग्गाको वार्षिक भाडा एक करोड १० लाख रुपियाँ लिने गरी संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्य र वृहस्पति विद्या सदनका तर्फबाट पुरुषोत्तम जोशीले सम्झौता गरेका थिए ।