भारतको उत्तराखण्डमा केदारनाथतर्फ उडिरहेको एक हेलिकप्टर प्राविधिक गडबडीपछि राजमार्गमा आकस्मिक अवतरण गर्न बाध्य भएको छ।
शनिबार पाँच जना तीर्थयात्रु बोकेको हेलिकप्टरमा उडान भर्नेबित्तिकै समस्या देखिएपछि पाइलटले कुशलतापूर्वक राजमार्गमा अवतरण गराउँदा ठूलो दुर्घटना टरेको हो।
क्रिस्टेल एभिएसन प्रालिको उक्त हेलिकप्टर बारासुस्थित बेसबाट उड्ने क्रममा प्राविधिक समस्यामा परेको थियो। जिल्ला पर्यटन विकास अधिकारी राहुल चौबेका अनुसार, पाइलटले तत्कालै नजिकैको खाली राजमार्गमा हेलिकप्टर उतारेर सबै यात्रुलाई सुरक्षित राख्न सफल भए।
घटनामा पाइलट सामान्य घाइते भएका छन् भने राजमार्गमा रोकिराखेको एउटा गाडीमा क्षति पुगेको छ।
उत्तराखण्ड नागरिक उड्डयन विकास प्राधिकरणले घटनाबारे नागरिक उड्डयन दुर्घटना छानबिन ब्युरोलाई जानकारी गराइसकेको छ।
सीइओ सोनिकाले भनिन्, “प्रारम्भिक अनुसन्धानमा उडान भर्ने क्रममा हेलिकप्टरको ‘कन्ट्रोल इनपुट’ जाम भएको देखिन्छ। यसबारे विस्तृत छानबिन सुरु भएको छ।” राज्य सरकारले घटनाका कारण अन्य नियमित हेलिकप्टर सेवामा कुनै असर नपरेको स्पष्ट पारेको छ।