काठमाडौं। प्रभु बैंक लिमिटेडको २३औं वार्षिक साधारण सभा विवादै विवादबीच सम्पन्न भएको छ । राती अबेरसम्म चलेको सभामा ६ जना सञ्चालकहरुका लागि ७ जनाबीच निर्वाचन भएकोमा सबै सांसद भट्टचनका ‘डमी क्यान्डीडेट’ निर्वाचित भएका छन्। जसमाअम्बिका शर्मा लामिछाने, अंगिरमान सिंह र बृष बहादुर बस्नेत सुरज कुमार श्रेष्ठ, राजु पौडेल र किशोरजङ्ग कार्की निर्वाचित भएका छन। जसमा एसियन लाइफसमूहका बृष बहादुर बस्नेतबाहेक सबै पूर्व अध्यक्ष देवी प्रकाशभट्टचनका प्रतिनिधि हुन्। प्रभु बैंकको इतिहासमा प्रजातान्त्रिक तरिकाले संचालकको निर्वाचन भएको यो पहिलो रेकर्ड हो। तर निर्वाचन भने निष्पक्ष हुन सकेन।
बैंकको सञ्चालक पदमा ११ जनाको उम्मेदवारी परेको थियो जसमा प्रभु समूहका अध्यक्ष देवी प्रकाश भट्टचन र एसियन लाईफका अध्यक्ष दिपक श्रेष्ठबीच र सीइओ अशोक शेरचनको गोप्य सम्झौतापछि एसियन समूहले बजारमा आफ्ना उम्मेदवारले उठाएका प्रोक्सी समेत सीइओ अशोक शेरचनलाई बुझाएर उम्मेद्वारी फिर्ता लिएर बाहिरिएका थिए।
निर्वाचन प्रकृयाको खिल्ली उदाउँदै निर्वाचन प्रकृयामा सहभागी निर्वाचन अधिकृत समेत सीइओ अशोक शेरचनका अघि निरिह बनेपछि निर्वाचनमा मतदान गर्न ३ घण्टादेखि कुरेका शेयरधनीले सीइओ शेरचन र अध्यक्ष भट्टचनलाई सभाहल बाटै लखेटेका थिए। तर सीइओ शेरचन र भट्टचनले धमाधम उम्मेदवार बोलाउँदै प्रलोभन दिँदै उम्मेद्वारी फिर्ता गर्न लगाएपछि केहि उम्मेदवारले उम्मेद्वारी फिर्ता लिएर हलबाट बाहिरिए तर सर्वसाधारण समूहतर्फकी उम्मेदवार सिर्जना वाग्लेले उम्मेद्वारी फिर्ता गर्न अस्वीकार गरेपछि सुरज कुमार श्रेष्ठ, किशोरजङ्ग कार्की र राजु पौडेलबीच मात्रै निर्वाचन भएको हो। जसमा वाग्ले बाहेक सबै भट्टचन र शेरचनकै प्रतिनिधि हुन्।
त्यस्तै, दुवै समूहको साझा उम्मेदवार भन्दै अघि सारेको कर्मचारी सञ्चय कोषका प्रतिनिधि ( संस्थापक) वीरेन्द्र पौडेललाई समेत पंगु बनाएर भट्टचनले प्रभु बैंकका कर्मचारी, प्रभु क्यापिटलका कर्मचारी तथा स्वयं आँफै लागेर ६ महिना अघिदेखि लगानीकर्ता झुक्याएर उठाएका प्रोक्सी आफ्ना प्रभु रेमिटका कर्मचारी रामेश्वर सापकोटा, निजि सचिव धुर्ब धिताल र प्रभु क्यापिटलका अध्यक्ष राम पाण्डेका नाममा दर्ता गरी उनीहरुलाई भोट हाल्न लगाएर आफ्ना ‘डमी एसम्यान’ लाई जिताउन सफल भएका छन्।
भट्टचन बैंकको अध्यक्ष हुँदा आफ्ना विभिन्न प्राईभेट कम्पनीमा प्रभु बैंकबाट अर्बौ रुपैयाँ कर्जा प्रवाह गरेका छन्। हाल पनि उनले बैंकको २ अर्बबढी कर्जा अपचलन गरेका छन् जुन निष्क्रिय अवस्थामा छ। उक्त कर्जाको व्यवस्थापन गर्न पनि भट्टचनलाई बैंकमा आफ्ना ‘एसम्यान’ पठाउनुपर्ने बाध्यता थियो। सोहि अनुरुप आँफैले नियुक्त गरेका रिस्तेदार सीइओ शेरचनको सहायतामा ६ महिनादेखि लागिपरेका भट्टचन संचालक समितिमा आफ्नै प्रतिनिधि पठाएर बैंक हत्याउने सफल भएका छन्।
एकाबिहानै देखि बैंक पुगेर गोप्य बैठकमा अन्तिमसम्म सहभागी हुँदै उम्मेदवारको सेटिंग् गर्न लागेका सांसद भट्टचन लाज पचाएरै भन्छन्,- ‘मत बैंकबाट बाहिरिएको ५ बर्ष भयो, मेरो कुनै भूमिका छैन।’