नेपालगन्ज । पूर्व खेलाडी समाज बाँकेको प्रथम साधारणसभा तथा अधिवेशनबाट प्रकाश बहादुर श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ। बुधबार सम्पन्न साधारणसभामा निर्वाचन समितिका प्रमुख शिव कुमार श्रेष्ठले सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्।
नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा निजामुद्दिन सिद्दीकी, उपाध्यक्षमा शान्ती सिंह क्षेत्री, महासचिवमा जयन्त कुमार शर्मा, सचिवमा नरेन्द्र थापा, सहसचिवमा अभय कुमार बस्नेत र कोषाध्यक्षमा विरेन्द्रमान श्रेष्ठ चयन भएका छन्। सदस्यहरूमा गोबिन्द प्रसाद श्रेष्ठ, राकेश श्रीवास्तव, मनोज कुमार श्रेष्ठ, चन्द्र बहादुर गुरुङ, आशा बिष्ट र पार्वती थापा क्षेत्री रहेका छन्।
अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथिका रूपमा लुम्बिनी प्रदेशका पूर्वमन्त्री एवम् ओलम्पियन सुरेन्द्र बहादुर हमालले दीप प्रज्ज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए। उनले नवनिर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र प्रदान गर्दै समाजको उज्ज्वल भविष्यको कामना गरे।
कार्यक्रममा नेपालगन्ज म्याराथनका संस्थापक तथा क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टी वाई ठकुरी र नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ का अध्यक्ष मनोज कुमार श्रेष्ठले पनि शुभकामना दिएका थिए।
समाजको पहिलो बैठकले अधिवेशन सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेको छ। बैठकले आगामी केही साताभित्रै भलिबल, शारीरिक सुगठन, र ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने निर्णय पनि गरेको छ। अध्यक्ष श्रेष्ठका अनुसार समाजले भविष्यमा खेलकुद गतिविधिहरूलाई थप प्रवर्द्धन गर्ने योजना अघि सारेको छ।