ढकारी । अछामको ढकारीमा ८० जना नागरिकलाई बाख्रा वितरण गरिएको छ। ढकारी गाउँपालिकाका विपन्न समुदायका ८० जना नागरिकलाई बाख्रा वितरण गरिएको हाे ।
सुदूरपश्चिम प्रदेश भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र अछामको आर्थिक सहयोग तथा ढकारी गाउँपालिका पशु शाखाको प्राविधिक सहयोगमा बाख्रा वितरण गरिएको छ ।
विपन्न समुदायलाई आत्मनिर्भर बनाउन तथा पशुपालन व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले गाउँपालिकाको वडा नम्बर १, २, ३ र ७ का प्रत्येक एक जनालाई दुई वटा बाख्राका दरले करिब १६० बाख्रा वितरण गरिएको पशु शाखा ढकारीका प्रमुख नृप प्रसाद भण्डारीले जानकारी दिनुभयो। उहाँका अनुसार बाख्रा वितरणले विपन्न वर्गलाई आर्थिक रूपमा सक्षम बनाउने मात्र नभई गाउँपालिकाको समग्र पशुपालन व्यवसायलाई पनि टेवा पुग्नेछ।
बाख्रा वितरण कार्यक्रममा सम्बन्धित वडाका वडा अध्यक्षहरू, ढकारी गाउँपालिकाका उपाध्यक्ष नेत्रकला देवी शाही तथा पशु प्राविधिकहरूको समेत सहभागिता रहेको थियो। उनीहरूले स्थानीयस्तरमा पशुपालन प्रवर्द्धन गर्न यस्ता कार्यक्रमहरू निरन्तर रूपमा आवश्यक रहेको बताएका छन्।
बाख्रा प्राप्त गरेपछि लाभग्राहीहरूले खुशी व्यक्त गरेका छन्। उनीहरूका अनुसार बाख्रापालनमार्फत आम्दानी गर्न सकिने भएकाले अब जीविकोपार्जनमा सहजता आउनेछ। विशेष गरी महिलाहरूले बाख्रापालन व्यवसायलाई घरायसी आम्दानीको एक प्रमुख स्रोतका रूपमा विकास गर्ने अपेक्षा गरिएको छ। यस कार्यक्रममार्फत दीर्घकालीन रूपमा आर्थिक सशक्तीकरणको बाटो खुल्ने आशा गरिएको छ।