काठमाडौं । कक्षा १२ को परीक्षा मिति नजिकिँदै जाँदा सरकार र शिक्षकबीचको द्वन्द्व चुलिँदो छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तोकिएको मितिमा नै सञ्चालन गर्ने निर्णय लिएको छ । शिक्षक महासंघ भने आन्दोलनबाट पछि नहट्ने अडानमा छ । यसले करिब साढे पाँच लाख विद्यार्थीको भविष्य अन्योलमा परेको छ ।
बोर्डको बैठकले शिक्षकको अनुपस्थितिमा पनि वैकल्पिक उपाय अपनाएर परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माले विद्यार्थी, अभिभावक र शैक्षिक चासो राख्ने पक्षबाट आएको दबाबका कारण परीक्षा तोकिएकै समयमा गर्ने निर्णय गरिएको बताए । ‘हामी परीक्षा केन्द्र समेत निर्धारण गरिसकेका छौं, परीक्षा सुचारु गर्न सबैलाई पुनः आग्रह गर्छौं,’ शर्माले भने ।
तर, शिक्षकमाथिको यो निर्णयले आन्दोलनरत पक्ष थप आक्रोशित बनेका छन् । आज दिउँसो बानेश्वरमा भएको प्रदर्शनमा शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले परीक्षा प्रक्रियाबाट आफूहरू पूर्ण रूपमा अलग हुने चेतावनी दिए । ‘निजामती कर्मचारी र सुरक्षाकर्मीमार्फत परीक्षा सञ्चालन गर्ने भनेको छ भने हामी संलग्न हुँदैनौं,’ उनले प्रष्ट पारे। साथै, उनले सम्पूर्ण शिक्षकलाई केन्द्रमा नजान निर्देशनसमेत दिएका छन् ।
शिक्षा ऐनमा अन्योल भइरहँदा सोमबार शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् ।
परीक्षा प्रभावित हुँदा करिब साढे पाँच लाख विद्यार्थीको परीक्षा अनिश्चित हुने भएकाले सरकार गम्भीर रुपमा लागेको बताइएको छ । आन्दोलनले एसईईको मूल्यांकन तथा नयाँ भर्ना प्रक्रियासम्मलाई अवरुद्ध गरिदिएको छ । प्रवेशपत्र हातमा बोकेका विद्यार्थी परीक्षा केन्द्र जाने, नजाने भन्ने अन्योलमा थिए ।
चैत २० गतेदेखि देशभरबाट विद्यालयमा ताला नै लगाएर शिक्षक,कर्मचारी काठमाडौं आएका छन् ।