अछाम । नेकपा एमाले अछामको ९ औँ जिल्ला अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सहमतिका नाममा मध्यरातमै ठूलो नाटक मञ्चन गरिएको छ ।
एमालेका उच्च श्रोतका अनुसार शिवप्रसाद उपाध्यायलाई अध्यक्ष बनाउने सहमति भएको छ । हिजो राति अबेरसम्म चलेको गोप्य छलफलपछि उपाध्यक्षमा तिलक कुवर, सचिवमा हिरण्ड भट्टराई र उपसचिवमा टोप बहादुर शाहीको नाममा पनि सहमति जुटाइएको हो ।
साथै पदाधिकारी र सदस्यहरूको नामसमेत टुंग्याइएको स्रोतको दाबी छ । सहमतिबाट नव निर्वाचितहरुको औपचारिक घोषणा केहि बेरमै गर्ने तयारी भइरहेको बताइएको छ ।
तर, यो सहमति ‘सर्वस्वीकृत’ भने देखिएको छैन । वर्तमान अध्यक्ष तथा अध्यक्ष पदका आकांक्षी चन्द्र बोहराले सहमतिलाई अस्वीकार गरेका छन् । सामाजिक सञ्जालमार्फत बोहराले राति भएको भनिएको सहमति र बाहिर आएको खबरलाई ‘झुठो हल्ला’ भन्दै खण्डन गरेका छन् ।
यसबीच सहमति प्रक्रियाले पार्टीभित्र ठूलो असन्तुष्टि जन्माएको छ । एमाले अछामका करिब ८० प्रतिशत प्रतिनिधि सहमतिको विकल्पमा निर्वाचन गर्नुपर्ने अडानमा उभिएका छन् । उनीहरूले आन्तरिक सर्कुलर नै निकालेर विद्रोह गर्ने चेतावनीसमेत दिएका छन् ।
एक नेताले नाम नखुलाउने शर्तमा भने, “अध्यक्षदेखि सदस्यसम्म रातारात भागबन्डा गरेर थोपर्न खोजिएको छ, हामी निर्वाचनमार्फतै नेतृत्व चयन गर्नुपर्छ भन्ने पक्षमा छौं।”
भित्रभित्रै असन्तुष्ट प्रतिनिधिहरू अब एकजुट हुँदै सहमतिविरुद्ध विद्रोहको तयारीमा जुटेका छन् । यद्यपि नेतृत्व चयन सहमतिकै आधारमा टुंग्याउने दबाब पनि जारी छ ।
पार्टीभित्रको यो विवादले एमाले अछामको अधिवेशन रोचक मोडमा पुगेको छ । यही विवादले सहमतिका पक्षधर र विरोधीबीच तिक्तता बढेको छ । यदि चाँडै सहमतिको नयाँ आधार नमिल्यो भने अधिवेशन मतदान प्रक्रियामा जान सक्ने स्रोतले बताएको छ ।