विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको अन्तर्राष्ट्रिय रूपमा प्रचलित नाम ‘माउन्ट एभरेस्ट’लाई नक्कली नाम भन्दै आलोचना गरेका छन् । कोशी प्रदेश लगानी सम्मेलनको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले सगरमाथाको वास्तविक र एक मात्र नाम ‘सगरमाथा’ नै भएको दाबी गरे ।
प्रधानमन्त्री ओलीका अनुसार ‘माउन्ट एभरेस्ट’ नामको सगरमाथासँग कुनै सम्बन्ध छैन । उनले भने, “एभरेस्टसँग सगरमाथाको कुनै लिनादिन छैन, त्यसैले यो नक्कली नाम हो। हामीले सगरमाथा नै भन्नुपर्छ, किनभने प्रपर नाउन भनेको अर्कै हुँदैन। सगरमाथा इज सगरमाथा।”
प्रधानमन्त्रीले सगरमाथाको नाम ब्रिटिस नापीविद् जर्ज एभरेस्टको नाममा राखिएको भन्दै आपत्ति जनाए । ब्रिटिस नापीविद्ले सगरमाथा होइन, ल्होत्से हिमाललाई अग्लो मानेर गणना गरेका थिए। त्यसैले सगरमाथासँग ‘एभरेस्ट’को नामको कुनै ऐतिहासिक वा भौगोलिक सम्बन्ध नरहेको उनको तर्क छ ।