काठमाडौं । नेकपा एमालेका सांसद तथा पूर्वपर्यटनमन्त्री योगेश भट्टराईले भैरहवा विमानस्थल (गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल) सम्बन्धी संसदीय अध्ययन उपसमितिबाट बाहिरिने घोषणा गरेका छन् ।
प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको आइतबारको बैठकमा भट्टराईले आफू उपसमितिमा नबस्ने स्पष्ट पारेका हुन् । पर्यटनमन्त्री रहेका बेला उनले गरिएका निर्णयमाथि उठेका प्रश्न उठेपछि संयोजक पदमा रहन नचाहेको बताएका हुन् ।
‘हामीलाई जे टीओआर दिइएको थियो त्यसआधारमा एउटा रिर्पोट बनाएर लगभग फाइनल पनि गरेको हो । त्यसलाई फेरि अर्को समितिको संयोजक अर्को भएपछि उहाँले आफ्नो मोडलबाट छलफल गर्नुहोला । त्यसमा मेरो केही पनि आपत्ति छैन,’ भट्टराईले आइतबार सार्वजनिक लेखा समितिको बैठकमा भने ।
यसअघि रास्वपा सांसद मनिष झाले भट्टराईमाथि मन्त्री भएर निर्णय गर्ने र त्यसपछि अध्ययन समितिमा बसेर निष्पक्षता कायम नहुने भन्दै प्रश्न उठाएका थिए ।
२०७८ असार १४ गते सार्वजनिक लेखा समितिले पोखरा र भैरहवा विमानस्थलबारे अध्ययन गर्न छुट्टाछुट्टै उपसमिति गठन गरेको थियो । पोखरा विमानस्थलको उपसमितिको संयोजक राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन थिए, जसले पहिले नै प्रतिवेदन बुझाइसकेका छन् । तर भैरहवा विमानस्थलसम्बन्धी उपसमितिले अझै प्रतिवेदन बुझाएको छैन ।
भैरहवा उपसमितिमा हाल सांसदहरू अमरेशकुमार सिंह, मनिष झा, अच्युतप्रसाद मैनाली, विक्रम पाण्डे, श्यामकुमार घिमिरे, मञ्जु खाँड र सराज अहमद फारुकी सदस्य छन् ।