अछाम, ढकारी । गुरुकुल मावि ढकारी नमुना विद्यालयको रूपमा छनोट भएको छ ।
अछाम जिल्लाको ऐतिहासिक शैक्षिक संस्थामध्ये एक गुरुकुल माध्यमिक विद्यालय पनि हाे । स्कुलको स्थापना विक्रम संवत् २०१८ सालमा भई शैक्षिक क्षेत्रमा निरन्तर प्रगति गर्दै आएको छ। प्रारम्भमा तीन कक्षासम्म सीमित रहेको यो विद्यालय हाल बालविकासदेखि कक्षा १२ सम्मको पठनपाठन सञ्चालन गर्दै आएको छ।
श्री ५ को सरकारबाट अनुमोदन भई अछाम जिल्लाको तत्कालीन हिच्मा ढकारी पञ्चायत वडा नं. ९ मा स्थापना भएको यो विद्यालयले विकट भौगोलिक परिवेश र सीमित स्रोतसाधनबीच समेत आफ्नो शैक्षिक स्तरमा उल्लेखनीय उचाइ हासिल गर्दै आएको छ। विद्यालयमा हालसम्म नेपाल सरकारबाट कक्षा १ देखि ३ सम्मका लागि मात्र स्थायी दरबन्दी स्वीकृत भए तापनि, विद्यालय व्यवस्थापन, शिक्षक तथा स्थानीय अभिभावकहरूको समर्पणले यो संस्था जिल्लाकै नमुना विद्यालयका रूपमा चिनिन सफल भएको हो।
२०७७ सालदेखि प्राविधिक धार अन्तर्गत ९–१२ कक्षा सञ्चालन गर्दै आएको विद्यालयले पछिल्लो समय शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार, व्यवस्थापन, तथा नवप्रवर्तनात्मक कार्यक्रमहरूमा देखाएको प्रतिबद्धताको उच्च मूल्यांकन गर्दै सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालयले यस विद्यालयलाई ‘नमुना विद्यालयको रूपमा छनोट प्रक्रिया अन्तर्गत अघि सारेको हो।