काठमाडौं । भारत प्रशासित जम्मु काश्मिरमा विस्फोटको आवाज सुनिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । बीबीसी हिन्दीका अनुसार जम्मु शहरको गुज्जरनगर पुलमा रहेका एक प्रत्यक्षदर्शीले जम्मु विमानस्थलनजिकै १६ वटा बस्तुहरू खसिरहेको देखेको बताएका छन् ।
सुरक्षा स्रोतले एएफपी समाचार संस्थालाई बताएअनुसार विमानस्थलमा विस्फोट भएको पुष्टि गरिएको छ । प्रत्यक्षदर्शीहरूले बीबीसीलाई बताएअनुसार विस्फोटपछि बजारहरू बन्द भएका छन् । मानिसहरू भाग्दै गरेको देखिएको छ । साइरनहरू बजिरहेका छन् भने शहरभर बिजुली अवरुद्ध भएको छ ।
बीबीसी संवाददाता दिव्या आर्याका अनुसार जम्मुका धेरै ठाउँहरूमा विस्फोटको आवाज सुनिएको छ र पूरै शहर अन्धकारमा डुबेको छ । कठुआमा पनि नागरिकहरूले दुई स्थानमा विस्फोटको आवाज सुनेका छन् र यहाँ पनि बिजुली काटिएको छ ।
केही दिनपहिले पहलमागमा २६ पर्यटकको हत्यामा पाकिस्तानको हात रहेको आरोप लगाउँदै बुधबार बिहान भारतले पाकिस्तानमा अपरेसन सिन्दुर नाम दिएर आक्रमण गरेको थियो । आक्रमणमा ३१ पाकिस्तानी मारिएका छन् । भारतका १५ सैनिक पनि मारिएका पाकिस्तानको भनाइ छ ।
भारतको आक्रमणपछि पाकिस्तानले पनि कडा जवाफ फर्काउने चेतावनी दिएको हो । नभन्दै बिहीबार साँझ भारत प्रशासित काश्मिरमा ठूलो विस्फोट भएको छ । यो हमला पाकिस्तानले गरेको आशंका गरिएको छ ।