खकेन्द्र ब. बुढा, ढकारी। ढकारी गाउँपालिका–१ स्थित नमुना विद्यालय श्री गुरुकुल माध्यमिक विद्यालयको परिसरमा आज विशेष मुटु परीक्षण तथा स्वास्थ्य शिविर सम्पन्न भएको छ। “मेरो मुटु, स्वस्थ मुटु” भन्ने नारासहित सञ्चालन गरिएको एकदिने शिविरले ग्रामीण भेगका नागरिकहरूलाई लक्षित गरी हृदय स्वास्थ्यसम्बन्धी सेवा प्रदान गरेको हाे।
कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष प्रकाश बहादुर साउँदले गरेका थिए भने प्रमुख अतिथिको रूपमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खडका सहभागी भएका थिए । विशेष अतिथिका रूपमा प्रदेशसभा सदस्य अछाम क्षेत्र नं. २ ‘ख’का माननीय मान बहादुर रावलको समेत उपस्थिति रहेको थियो। साथै कार्यक्रममा विभिन्न राजनीतिक दलका अगुवाहरू, स्वास्थ्यकर्मी, समाजसेवी तथा शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेकाे थियो।
कार्यक्रममा वक्ताहरूले ग्रामीण भेगमा हृदयसम्बन्धी रोगको जोखिम बढिरहेको सन्दर्भमा यस्ता शिविरहरूलाई नियमितरूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। गाउँपालिका अध्यक्ष साउँदले स्वास्थ्यलाई स्थानीय तहको पहिलो प्राथमिकतामा राखिएको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरे।
उनले गुरुकुल विद्यालयलाई शैक्षिक क्षेत्रमा नमुना बनाउने अभियानसँगै स्वास्थ्य सचेतनालाई पनि जोड दिइएको बताउँदै यस किसिमको शिविरले समाजमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्ने धारणा राखे। नमुना विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानिय बासिन्दाहरूको उल्लेखनीय सहभागितामा सम्पन्न शिविरमा सयौँले निःशुल्क मुटु परीक्षण सेवा लिएका छन्।
स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकहरूलाई लक्षित गरी सञ्चालन गरिएको यो कार्यक्रमले जनस्तरमै स्वास्थ्य सचेतना फैलाउने अपेक्षा गरिएको छ।