खकेन्द्र ब.बुढा अछाम । ढकारी गाउँपालिका–१ स्थित श्री गुरुकुल माध्यमिक विद्यालयको आयोजनामा पालिका स्तरिय शिक्षक–कर्मचारी मैत्री भलिवल प्रतियोगिता हुने भएको छ। विद्यालयका अनुसार प्रतियोगिता जेठ ९ गतेदेखि विद्यालयकै प्राङ्गणमा सुरु हुनेछ।
प्रतियोगितामा गाउँपालिका भित्रका सम्पूर्ण विद्यालय तथा कार्यालयहरूमध्ये इच्छुक टिमहरूले जेठ ८ गते बेलुकी ४ बजेसम्म टिम दर्ता गराउनु पर्नेछ। टिम दर्ता शुल्क ३,१०० रुपैयाँ तोकिएको छ।
प्रतियोगितामा उत्कृष्ट टिमहरूलाई आकर्षक नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। प्रथम हुने टिमले ६० हजार रुपैयाँ, द्वितीय हुने टिमले ४० हजार, तृतीयले २५ हजार र सान्त्वना पुरस्कारस्वरूप १० हजार रुपैयाँ प्राप्त गर्नेछ।
प्रतियोगितामा सहभागी हुने खेलाडीहरूका लागि निर्धारित ड्रेस अनिवार्य गरिएको आयोजकले जनाएका छन्। खेल अवधिभर खान तथा वासको व्यवस्था सहभागी टिमहरूले आफैं गर्नुपर्नेछ।
प्रतियोगिता शिक्षक तथा कर्मचारीहरूबीच आपसी सौहार्द, शारीरिक स्वास्थ्य प्रवर्द्धन र समन्वय सुदृढीकरणका लागि आयोजना गरिएको विद्यालयले जनाएको छ।