काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि जेठ महिनामै प्रतिनिधिसभाका दुई सदस्य निलम्बनमा परेका छन् ।
बिहीबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा लागेको छ । पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनको सांसद पद् स्वतः निलम्बनमा परेको छ ।
यसअघि जेठ एक गते अख्तियारले नेपाली कांग्रेसका सांसद तथा पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री मोहनबहादुर बस्नेतविरुद्ध टेरामक्स प्रकरणमा संलग्न रहेको आरोपमा मुद्दा दर्ता गरेको थियो । मुद्दा दर्ता भएसँगै बस्नेतको सांसद पद स्वतः निलम्बनमा परेको थियो ।
२७५ सदस्यीय प्रतिनिधि सभाका ४ सांसद निलम्बनमा रहँदा अर्का १ जना फरार रहेका छन् ।
सांसदहरू रवि लामिछाने र टोपबहादुर रायमाझी निलम्बनमा रहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका प्रतिनिधिसभा सदस्य रवि लामिछाने सम्पति शुद्धीकरणको मुद्दा दर्ता भएसँगै उनी निलम्बनमा परेका हुन् । लामिछाने ८ पुस २०८१ देखि निलम्बनमा छन् ।
नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी निलम्बनमा छन् । उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका छन् ।
सहकारीको बचत अनियमितताको आरोप लागेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद गीता बस्नेत एक वर्षदेखि फरार छिन् । बस्नेतविरुद्ध १४ वैशाख २०८१ मा पक्राउ पुर्जी जारी भएको थियो । त्यसयता उनी फरार छिन् ।