ढकारी । अछामको ढकारी गाउँपालिकाका स्थानीय बासिन्दाले सञ्चार सेवा, सडक, बत्ती र आधारभूत पूर्वाधारका समस्या समाधानमा सरकार र राजनीतिक दलहरूले दीर्घकालीन बेवास्ता गरेको आरोप लगाएका छन्। ढकारीका धेरै गाउँमा अहिले पनि मोबाइल नेटवर्क नचल्ने, सडक र बिजुली जस्ता आधारभूत सुविधा नपुगेकाे अवस्था रहेको छ। साँझको पाँच बजेदेखि कुनै पनि सिममा नेटवर्क आउँदैन, नमस्ते र एनसेल दुबै बन्द हुन्छन्, मिन बुढाले बताए।
उनका अनुसार ढकारी गाउँपालिकाको भौरेगाउँ, रुज, बलाता, भिग्मण, अम्गाउ, दाउनामरा, मैका र बास्कोटलगायतका गाउँमा संचार सेवा ठप्प हुने, बिजुली अनियमित हुने र सडक वर्षा याममा अवरुद्ध हुने समस्या दीर्घकालदेखि रहँदै आएको छ।
बुढाले नयाँ दलका प्रतिनिधिहरूलाई सम्बोधन गर्दै भनेका छन्, काठमाडौँमा नयाँ–पुराना दलका ठूला मान्छेहरू देखिन्छन्, तर ढकारीका समस्या समाधानका लागि कोही गाउँ फर्किएको छैन।
उनले सञ्चार मन्त्रालय र हालका सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलप्रति पनि ध्यानाकर्षण गराउँदै भनेका छन्, हुलाक बजार र गाउँपालिकामा बसेर फेसबुकमा स्टाटस हालेर मात्रै नयाँ देखिँदैन, काम गरेर देखाउनुपर्छ।
ढकारीका बासिन्दा मिन बुढाले सरकार र सम्बन्धित निकायसँग आधारभूत पूर्वाधार विकासमा ध्यान दिन आग्रह गर्दै भन्छन्, हामी पनि देशमै बसेर आधुनिक सेवा पाउने अधिकार राख्छौँ, तर कसैले सुन्दैन।

