Artha Update
नेभिगेशन

काठमाडौं । जेनजी आन्दोलनका क्रममा गण्डकी प्रदेशमा निजी सम्पत्तिमा भएको आगजनी र तोडफोडबाट ठूलो मात्रामा क्षति भएको छ । यसैबीच, बीमा कम्पनीहरूमा दावीको ओइरो लाग्न थालेको छ । हालसम्म गण्डकी प्रदेशबाट मात्र १ अर्ब १३ करोड ४० लाख रुपैयाँ बराबरको बीमा दावी पेस भएका छन् ।

नेपाल बीमा प्राधिकरणले सोमबार (भदौ ३०) सम्मको प्रारम्भिक विवरण सार्वजनिक गर्दै आन्दोलनका कारण बीमा कम्पनीहरूले ठूलो वित्तीय बोझ सामना गर्नु परेको जनाएको छ । गण्डकी क्षेत्रबाट मात्र डेढ सयभन्दा बढी बीमा दावीहरू दर्ता भएका छन् ।

हिमालयन एभरेष्ट इन्स्योरेन्समा सबैभन्दा धेरै दावी परेको छ, जहाँ ५० करोड रुपैयाँ बराबरका ९ वटा दावी दर्ता भएका छन् । यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ३५ करोड रुपैयाँ बराबरका ५० वटा दावी पेस भएका छन् ।

त्यस्तै, राष्ट्रिय बीमा कम्पनीमा ७ करोड बराबरका २० वटा, सिद्धार्थ प्रिमियरमा ५ करोड बराबरका १५ वटा, नेको इन्स्योरेन्समा ४ करोड ४५ लाख बराबरका १६ वटा, आईजीआई प्रुडेन्सियलमा ३ करोड १५ लाख बराबरका ३ वटा, ओरियण्टलमा ३ करोड बराबरका १३ वटा, सानिमा जिआइसीमा २ करोड बराबरका ११ वटा र युनाइटेड अजोडमा २ करोड बराबरका ६ वटा दावी पेस भएका छन् ।

त्यसैगरी, एनएलजी इन्स्योरेन्समा ८० लाख बराबरका ६ वटा, शिखर इन्स्योरेन्समा ७५ लाख बराबरका ५ वटा र नेपाल माइक्रो इन्स्योरेन्समा २५ लाख बराबरका ५ वटा दावी दर्ता भएका छन्।

हालसम्म नेपाल इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो, स्टार माइक्रो र ट्रष्ट माइक्रो इन्स्योरेन्समा भने कुनै दावी पेश भएको छैन।

बीमा प्राधिकरणले आन्दोलनका क्रममा व्यापक आगजनी र तोडफोडका कारण निर्जीवन बीमा कम्पनीहरूमा अरबौं रुपैयाँ बराबरको दावी पर्ने अनुमान गरेको छ । कम्पनीहरू हाल क्षतिको विस्तृत विवरण संकलन गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय