काठमाडौं । बैंक तथा वित्तीय संस्थाले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । २० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको सूचीअनुसार ब्याजदर भदौको तुलनामा असोजमा घटेको छ।
भदौमा वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ५.५७७ प्रतिशत रहेकामा असोजमा घटेर ५.४६३५ प्रतिशत विन्दुमा झरेको छ ।
भदौको तुलनामा असोजमा बैंकहरूको यस्तो ब्याजदर ०.११३५ प्रतिशतले घटेको हो ।
भदौको तुलनामा असोजमा १० बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर ६ प्रतिशतमा कायम भएको छ ।
ब्याजदर घटाएका बैंकमा एनआईसी एसिया बैंक, कृषि विकास बैंक, एभरेष्ट बैंक, नेपाल बैंक, प्राइम कमर्सियल बैंक, कुमारी बैंक, सानिमा बैंक, नेपाल एसबीआई बैंक, एनएमबी बैंक, सिटिजन्स बैंक छन् ।
सात बैंकले स्थिर राखेका छन् । स्थिर राखेका बैंकमा माछापुच्छ्रे, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, ग्लोबल आईएमई बैंक, सिद्धार्थ बैंक, हिमालयन बैंक र इन्भेस्टमेन्ट मेगा बैंक छन् । लक्ष्मी सनराइज र स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने सामान्य बढाएका छन् ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत नीतिगत दरलाई घटाएर ब्याजदर घटाउन दवाव दिएपछि साउन र भदौमा पनि बैंकहरुले ब्याजदर घटाएका थिए । हाल नीतिगत दर ४.५ प्रतिशत छ । त्यस्तै स्थायी तरलता सुविधा दर ६ प्रतिशत र स्थायी निक्षेप सुविधा संकलन दर २.७५ प्रतिशत छ ।