काठमाडौँ । रिज लाइन इनर्जी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने आज (पुस २८ गते) अन्तिम दिन हो। कम्पनीले पुस १३ गतेदेखि स्थानीयका लागि आईपीओ खुला गरेको थियो।
कम्पनीले जारी पुँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत बराबरको २६ करोड ७ लाख रुपैयाँका २६ लाख ७ हजार कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको छ।
यसमध्ये आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि प्रतिकित्ता १०० रुपैयाँ दरका ११ लाख ८५ हजार कित्ता, अर्थात् ११ करोड ८५ लाख रुपैयाँ बराबरको साधारण सेयर छुट्याइएको छ।
उक्त सेयरमा गोरखा जिल्लाको अजिरकोट गाउँपालिकाका सबै वडा तथा लमजुङ जिल्लाको दूधपोखरी गाउँपालिकाका वडा नं. १, २ र ३ र दोर्दी गाउँपालिकाका वडा नं. ४, ५ र ६ का स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी (Issuer Rating)’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले सञ्चालन गरेको ९.०५ मेगावाट क्षमताको सुपर चेपे जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ९ करोड ६० लाख रुपैयाँ रहेको छ। प्रतिमेगावाट लागत २३ करोड १६ लाख रुपैयाँ रहेको आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि ३० वर्ष ११ महिना बाँकी छ।
आयोजनाबाट साधारण लगानी फिर्ता हुने अवधि ७ वर्ष ४ महिना र डिस्काउन्टेड आधारमा १० वर्ष ९ महिना रहेको छ। उक्त आयोजनाबाट कम्पनीले २०८० माघ ८ गतेदेखि व्यवसायिक उत्पादन सुरु गरी राष्ट्रिय प्रसारण लाइनमा विद्युत बिक्री गर्दै आएको छ।
आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले रिज लाइन इनर्जीको आयोजना कार्यालय गोरखा, प्रभु क्यापिटल कमलादी, प्रभु बैंकका छेपेटार र पालुङटार शाखाबाट आवेदन दिन सक्नेछन्।
साथै, प्रभु क्यापिटलले तयार गरेको अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिनेछ। आवेदन फारामका लागि २ रुपैयाँ शुल्क लाग्नेछ।