अछाम। अछाम जिल्लाको तुर्माखाँद गाउँपालिकामा आयोजित १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ सफलतापूर्वक सम्पन्न भएको छ। गाउँपालिका स्तरीय यस प्रतियोगितामा तुर्माखाँदका विभिन्न विद्यालयका विद्यार्थी खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
खेलकुदमार्फत विद्यार्थीहरूको प्रतिभा पहिचान र विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विभिन्न विधाका खेलहरू समावेश गरिएको थियो। प्रतिस्पर्धात्मक तथा अनुशासित वातावरणमा सम्पन्न प्रतियोगिताबाट विद्यालयस्तरमा खेलकुदप्रतिको आकर्षण अझ बढेको देखिएको छ।
प्रथम बसुन्धरा माध्यमिक विद्यालय, तुर्माखाँद–३, थाल्पाटा,द्वितीय कालिकेश्वरी माध्यमिक विद्यालय, तुर्माखाँद–४, तृतीय, सिद्धेश्वरी माध्यमिक विद्यालय, तुर्माखाँद–८, धमाली,सान्त्वना-कामेश्वरी माध्यमिक विद्यालय, तुर्माखाँद–६, रानीबनले हासिल गरेका छन्।
प्रतियोगिता समापन समारोहमा बोल्दै तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्मरबहादुर बिसीले खेलकुदले विद्यार्थीहरूको शारीरिक, मानसिक तथा नैतिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले आगामी दिनमा पनि गाउँपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै निरन्तर सहयोग र लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
यस प्रतियोगिताले स्थानीय तहमा खेलकुदको प्रवर्द्धन गर्नुका साथै भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतिभावान खेलाडी उत्पादन गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।