काठमाडौं । अछामको तुर्माखाँद गाउँपालिका–३ भैरबस्थानस्थित बसुन्धरा माध्यमिक विद्यालयको ५०औँ वार्षिक उत्सव तथा स्वर्ण जयन्तीको अवसरमा गाउँपालिका अध्यक्ष डम्बरबहादुर बिसीले शिक्षामा प्रत्यक्ष लगानी गर्दै उदाहरणीय पहल गरेका छन्।
कार्यक्रमका क्रममा विद्यालयमा अध्ययनरत कक्षा १ देखि १२ सम्मका जेहेन्दार तथा उत्कृष्ट विद्यार्थीहरूलाई नगद सहयोगसहित प्रमाणपत्र प्रदान गरिएको थियो। अध्यक्ष बिसीले आफू निर्वाचित भएपछि प्राप्त हुने मासिक सेवा–सुविधाबाट एक महिनाको रकम बराबर जनही २,५०० रुपैयाँका दरले कुल ३० हजार रुपैयाँ नगद सहयोग उपलब्ध गराएका हुन्।

राजनीतिक भाषण र औपचारिक प्रतिबद्धताभन्दा बाहिर निस्केर शिक्षा क्षेत्रमा प्रत्यक्ष सहयोग गरिएको यस कदमले विद्यार्थीहरूमा थप उत्साह र प्रेरणा जगाएको विद्यालय स्रोतले जनाएको छ। स्वर्ण जयन्तीको अवसरमा गरिएको यो सहयोगलाई स्थानीय समुदायले शिक्षाप्रति जिम्मेवार नेतृत्वको स्पष्ट उदाहरणका रूपमा लिएका छन्।

स्थानीय तहबाट हुने यस्ता पहलले विद्यालय शिक्षाको गुणस्तर सुधारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।