Artha Update
नेभिगेशन

अछाम। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) अछाम क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका पुष्प न्यौपानेले आफूले उक्त क्षेत्रको तीन तहको प्रतिनिधित्व गर्ने स्पष्ट दृष्टिकोण अघि सारेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको आफ्नो धारणा अनुसार न्यौपानेले अछाम–२ को राजनीतिक, आर्थिक र सामाजिक अवस्थालाई नयाँ दिशातर्फ लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनका अनुसार पहिलो प्राथमिकता अहिलेको “ढलको पानीझैँ गन्हाउँदै गएको राजनीतिक दाउपेच”लाई सङ्लो बनाउँदै आर्थिक समृद्धिका लागि स्थानीय सम्पदा उपयोग रणनीतितर्फ राजनीति फर्काउने रहेको छ।

दोस्रो रूपमा उनले विकास, सामाजिक सुरक्षा र समतामूलक समाजका पक्षमा आवाज उठाउने मात्र होइन, कार्यान्वयनकर्ता बन्ने दाबी गरेका छन्। यसले अछाम–२ का नागरिकका दीर्घकालीन आवश्यकता सम्बोधन गर्ने उनको भनाइ छ।

तेस्रो प्रतिनिधित्वका रूपमा न्यौपानेले जिल्लाका विकासप्रेमी, बौद्धिक युवा, साथै अछाम–२ को उम्मेदवारीपछि अलमलमा परेका माओवादी मतदाता, भोट परिवर्तन गर्न तयार कांग्रेसका मतदाता र विभिन्न कारणले असन्तुष्ट एमाले मतदाताको प्रतिनिधित्व गर्ने बताएका छन्। साथै पाँचै पालिकामा नयाँ, सक्षम र जिम्मेवार राजनीतिक अनुहार खोजिरहेका मतदाताको भरोसा बन्ने उनको दाबी छ।

न्यौपानेले “एक पटक विश्वास गर्नुस्, जनतालाई हार्न दिने छैन” भन्दै मतदातासँग प्रत्यक्ष भरोसा मागेका छन्। अछाम–२ मा नयाँ राजनीतिक विकल्प र बहसको रूपमा उनको उम्मेदवारीलाई हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय