Artha Update
नेभिगेशन

अछाम। नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार बलबहादुर कुँवरले कालागाउँदेखि ओलीगाउँसम्म विभिन्न बस्तीमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्। कालागाउँ, बान्नातोली, खिमाडा, पालाकाट्य, जुपु र ओलीगाउँमा आयोजित कार्यक्रमका क्रममा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता देखिएको छ भने गाउँ–गाउँमा चुनावी माहोल थप सक्रिय बनेको छ।

घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार कुँवरले स्थानीय आमा–बुवा, दाजुभाइ तथा युवासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका समस्या, गुनासा र अपेक्षाहरू सुने। स्थानीय बासिन्दाले खानेपानीको अभाव, साँघुरा सडक, गुणस्तरीय शिक्षाको कमी तथा स्वास्थ्य सेवामा सहज पहुँच नहुनु मुख्य समस्या रहेको बताएका छन्।

स्थानीयका अनुसार धेरै ठाउँमा सडक पुगे पनि पर्याप्त फराकिलो नभएकाले आवतजावतमा कठिनाइ भइरहेको छ। त्यस्तै, सुरक्षित खानेपानीको अभावका कारण अझै पनि टाढाबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यता कायम रहेको उनीहरूको गुनासो छ। विद्यालय र स्वास्थ्य संस्था भए पनि आवश्यक जनशक्ति र सेवा–सुविधा पर्याप्त नहुँदा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा समस्या झेल्नुपरेको उनीहरूले बताएका छन्।

यसैबीच उम्मेदवार कुँवरले आफू निर्वाचित भए खानेपानी, सडक, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर योजनाबद्ध रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले जनतासँग प्रत्यक्ष समन्वय गर्दै वास्तविक समस्या पहिचान गरेर समाधानमुखी कार्यक्रम अघि बढाउने बताए।

घरदैलो कार्यक्रममा सहभागी स्थानीय बासिन्दाले जनतासँग प्रत्यक्ष संवाद गर्ने र स्थानीय समस्या बुझ्ने उम्मेदवारको रूपमा कुँवरप्रति सकारात्मक अपेक्षा व्यक्त गरेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय