Artha Update
नेभिगेशन

ढकारी। अछामको ढकारी गाउँपालिकाबाट पहिलो पटक वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति प्रदान गरिएको छ। मलेसियामा कार्यरत एक श्रमिकलाई गाउँपालिकाबाटै पुनः श्रम स्वीकृति दिइएको हो।

यसअघि पुनः श्रम स्वीकृतिका लागि सेवाग्राहीहरूलाई काठमाडौंस्थित वैदेशिक रोजगार विभाग वा सम्बन्धित श्रम कार्यालय पुग्नुपर्ने बाध्यता थियो। तर अहिले स्थानीय तहबाटै सेवा सुरु भएपछि सेवाग्राहीलाई समय र खर्च दुवै बचत हुने भएको गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर साउँदले अर्थ अपडेटसँग बताएका छन्।

गाउँपालिका अध्यक्षका अनुसार स्थानीय तहबाटै सेवा प्रवाह गर्ने संघीय सरकारको नीति अनुरूप यो सेवा सुरु गरिएको हो। यसले वैदेशिक रोजगारीमा रहेका नागरिकलाई सहज छिटो र पारदर्शी सेवा प्रदान गर्ने विश्वास लिइएको छ।

हाल पुनः श्रम स्वीकृति सेवा मलेसियामा कार्यरत श्रमिकका लागि प्रदान गरिएको र आगामी दिनमा अन्य मुलुकमा रहेका श्रमिकका हकमा पनि सेवा विस्तार गरिने तयारी रहेको अध्यक्ष साउँदले बताएका छन्।

स्थानीयस्तरमै श्रमसम्बन्धी सेवा उपलब्ध हुन थालेपछि ढकारी गाउँपालिकावासीमा उत्साह देखिएको छ। वैदेशिक रोजगारीका लागि विदेश गएका नागरिकका परिवारले समेत अब जिल्ला बाहिर धाउनुपर्ने बाध्यता कम भएको बताएका छन्।

गाउँपालिकाले सेवाग्राहीलाई आवश्यक कागजातसहित कार्यालयमा उपस्थित भई सेवा लिन अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय