काठमाडौं । अर्थमन्त्री स्वर्णीम वाग्लेले पुँजी बजारको दायरा फराकिलो बनाउँदै दोस्रो बजार कारोबारमा स्थिरता ल्याउनु आवश्यक रहेको बताएका छन् । सोमबार सार्वजनिक देशको वर्तमान आर्थिक स्थितिपत्रमा पुँजी बजारबारे मन्त्री वाग्लेको यो धारणा आएको हो।
‘पुँजी बजारको दायरा विस्तार गर्दै उत्पादनमूलक कम्पनीहरुलाई प्रवेश गर्न प्रोत्साहित गर्न, गैरआवासाीय नेपालीको लगानी भित्र्याउन र सरकारी ऋणपत्र लगायतको ऋणपत्र बजारको विकास गर्न तत्काल कानुनी सुधार गर्नुपर्नेछ। साथै दोस्रो बजार कारोबारमा पारदर्शिता, विश्वसनियता र स्थिरता ल्याउनु पनि त्यत्तिकै आवश्यक छ,’ स्थितिपत्रमा भनिएको छ।
अर्थ मन्त्रालयका अनुसार २०८२ फागुनसम्म पुँजी बजारमा २८६ कम्पनी सूचीकृत रहेका छन्। दोस्रो बजार कारोबारमा इक्विटीको अंश ९९.४ प्रतिशत रहेको छ। बजारमा सरकारी ऋणपत्रहरू सूचीकृत गर्ने प्रावधान रहे पनि कारोबार हुन सकेको छैन। २०७३ असारमा बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादनको ७२.५ प्रतिशत बराबर रहेकोमा २०८२ फागुनमा ७७.७ प्रतिशत बराबर पुगेको छ।
बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको पुँजीकरण हिस्सा धितोपत्र बजारमा २०७३ असारमा ८५ प्रतिशतभन्दा बढी रहेकोमा २०८२ फागुनमा सो हिस्सा ५२.२ प्रतिशतमा झरेको छ। सरकार गठन हुनुअघि २०८२ चैत ११ मा नेप्से सूचकांक २ हजार ९५० बिन्दुमा थियो। अहिले २०८३ वैशाख १४ मा २ हजार ७९६ बिन्दुमा छ।