अछामको ढकारी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ आयोजना हुने भएको छ। ढकारी गाउँपालिकाको कार्यालयले सूचना जारी गर्दै पालिकाभित्रका सबै माध्यमिक विद्यालयलाई विद्यार्थी सहभागिताका लागि अनुरोध गरेको छ।
जिल्ला खेलकुद विकास समिति अछामको पत्र र ढकारी गाउँपालिका युवा तथा खेलकुद विकास समितिको निर्णयअनुसार १६औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि खेलाडी छनोट गर्न पालिका स्तरीय प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।
सूचनाअनुसार प्रतियोगिता पुष २४ गतेदेखि २७ गतेसम्म ढकारी गाउँपालिका, अछामस्थित बुढासैन खेल मैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा कक्षा १२ सम्म नियमित अध्ययनरत १८ वर्ष ननाघेका विद्यार्थी खेलाडीहरूले सहभागीता हुन पाउनेछन्।
प्रतियोगितामा सहभागी हुन इच्छुक विद्यालयहरूले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका २०७० (पाँचौँ संशोधन) अनुसार तोकिएको फारम भरी, विद्यार्थीको जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि र एक प्रति फोटो सहित प्रधानाध्यापकबाट प्रमाणित गरी पेश गर्नुपर्नेछ।
भलिबल, कबड्डी र एथलेटिक्स विधामा छुट्टाछुट्टै विद्यार्थी सहभागी गराउनुपर्ने र सहभागी विद्यार्थीहरूको विवरणसहितको फाइल पुष २३ गते कार्यालय समयभित्र ढकारी गाउँपालिका युवा तथा खेलकुद विकास समितिमा अनिवार्य रूपमा बुझाउनुपर्ने सूचनामा उल्लेख गरिएको छ।
ढकारी गाउँपालिकाले खेलकुदमार्फत विद्यार्थीको शारीरिक, मानसिक विकास र प्रतिभा पहिचानमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
