पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको लामो समयपछि नियमित अन्तर्राष्ट्रिय उडान हुने सम्भावना बढेको छ । आज (बुधबार) साँझदेखि दुबई–पोखरा–दुबई रुटमा उडान हुँदैछ । संयुक्त अरब इमिरेट्स (यूएई) को ध्वजावाहक वायुसेवा कम्पनी फ्लाई दुबईले यो रुटमा नियमित उडान गर्ने तयारी गरेको हो ।
२०७९ पुस १७ गते अंग्रेजी नयाँ वर्षको दिन उद्घाटन भएको पोखरा विमानस्थलमा हालसम्म नियमित उडान प्रभावकारी हुन सकेको छैन । बुधबार साँझ ६ः१५ बजे जहाज पोखरा विमानस्थलमा अवतरण गर्नेछ । त्यसपछि आजै साँझ ७ः१५ बजे पोखराबाट यात्रु लिएर जहाज दुबईका लागि उड्नेछ ।
फ्लाई दुबईले दुबई अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल ३ बाट पोखराका लागि दैनिक सेवा सञ्चालन गर्नेछ । पहिलो पटक अवतरण गर्ने विमानलाई पोखरा विमानस्थलमा वाटर स्यालुट (पानीको फोहरा) सहित भव्य स्वागत गर्ने कार्यक्रम तय गरिएको छ ।
यसअघिको सार्वजनिक कार्यक्रम भने रद्द गरिएको छ । विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक पर्ने सम्पूर्ण प्राविधिक तथा भौतिक पूर्वाधार व्यवस्थापनको काम पूरा भएको पोखरा विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए ।
‘हामी आजको दिनको व्यग्र पर्खाइमा थियौँ । विमानस्थलबाट प्रवाह गर्नुपर्ने सम्पूर्ण तयारीका काम पूरा भएका छन्,’ उनले भने, ‘विमानस्थल सञ्चालनपछि केही वायुसेवा कम्पनीले चार्टर उडान गरे पनि त्यसले निरन्तरता पाउन सकेको थिएन । दुबईका लागि दैनिक नियमित उडान सुरु हुन लागेको अवस्थामा हामी उत्साहित छौँ ।’
विमानस्थलभित्र रहेको अध्यागमन, भन्सार र सुरक्षा व्यवस्था चुस्त पारिएको छ । फ्लाई दुबईले यो सेवा एमिरेट्ससँगको कोड सेयरअन्तर्गत सञ्चालन गर्ने भएकाले दुबईलाई ट्रान्जिट बनाएर विश्वका १२० भन्दा बढी गन्तव्यमा यात्रा गर्न सहज हुनेछ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नियमित उडानले पोखरालाई विश्व हवाई सञ्जालसँग जोड्ने बताए ।
‘पोखरा–दुबई नियमित उडान पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलमा ल्याण्ड हुँदैछ । यसका लागि आवश्यक सम्पूर्ण आधिकारिक तथा प्राविधिक तयारी पूरा भइसकेको छ,’ उनले भने, ‘नेपालको पर्यटन राजधानी पोखरा अब अन्तर्राष्ट्रिय हवाई सञ्जालमा थप जोडिँदैछ । यो नियमित उडानले पोखराको पर्यटन, व्यापार तथा अन्तर्राष्ट्रिय आवागमनलाई थप सहज र सुदृढ बनाउने विश्वास छ ।’
फ्लाई दुबईको नियमित उडान तालिका सार्वजनिक भएसँगै पोखराका पर्यटन व्यवसायी, उद्योगी तथा आम नागरिक निकै उत्साहित बनेका छन् । पहिलो उडानबाट पोखरा आउने तथा यहाँबाट जाने यात्रुलाई पर्यटन व्यवसायीले खादा र माला लगाएर स्वागत तथा बिदाइ गर्ने तयारी गरेका छन् ।
होटल तथा पर्यटन व्यवसायीहरूले यात्रुहरूका लागि विभिन्न छुट प्याकेज, उपहार कुपन, सूचना डेस्क र निःशुल्क पिकअपजस्ता सेवाको घोषणा गरेका छन् । नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले पोखरा दुबई उडान ऐतिहासिक अवसर भएको बताए । ‘पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुनु आफैँमा ऐतिहासिक अवसर हो । अब यसलाई सफल बनाउन पोखराका सबै व्यवसायी र सरोकारवालाले अपनत्व लिएर यात्रु बढाउने वातावरण बनाउनुपर्छ,’ उनले भने ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले विदेशमा रहेका नेपालीहरूलाई काठमाडौँ नगई सिधै पोखरा आउने विकल्प खुलेको बताए । ‘दुबई, युरोप र अमेरिकामा रहेका नेपालीहरू सिधै पोखरा ओर्लिन पाउने भएकाले अतिरिक्त समय र खर्च घट्नेछ,’ उनले भने ‘यसलाई थप प्रभावकारी बनाउन भिसा, श्रम स्वीकृति, स्वास्थ्य परीक्षण र कार्गो सेवा पोखरामै सहज उपलब्ध गराइनुपर्छ ।’
पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले यो उडानलाई पर्यटनमा मात्र सीमित नगरी स्थानीय कृषि तथा औद्योगिक उत्पादन निर्यातको अवसरका रूपमा सदुपयोग गर्नुपर्ने तर्क गरे । ‘पोखरा–दुबई उडानलाई गुणस्तरीय पर्यटक भित्र्याउन र गण्डकीमा उत्पादित कृषि तथा स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने माध्यम बनाउनुपर्छ, जसले समग्र अर्थतन्त्रमा दीर्घकालीन फाइदा पुर्याउँछ,’ उनले भने ।
यसअघि कति भए अन्तर्राष्ट्रिय उडान ?
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्म ७३ वटा चार्टर्ड र ७३ वटा नियमित गरी कुल १ सय ४६ वटा अन्तर्राष्ट्रिय उडानहरू भएका छन् । ‘अहिले सम्म ७३ वटा चार्टर्ड र ७३ वटा नियमित गरी कुल १४६ वटा उडानहरू भएका छन् । यहाँ हुने उडानका क्रममा विमान कम्पनीलाई सबै कुरा छुट छ,’ विमानस्थल प्रवक्ता जसोदा पौडेल भन्छिन्, ‘ल्यान्डिङ, पार्किङ र पछिल्लो पटक त प्यासेन्जर ट्याक्स पनि छुट गराएको छ ।’
विमानस्थलले हवाई कम्पनीहरूलाई ल्यान्डिङ र पार्किङ शुल्कमा छुट दिँदै आएको छ । यसले गर्दा थप अन्तर्राष्ट्रिय उडानहरू आकर्षित हुने विश्वास लिइएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्म ३ हजार ८ सय २८ यात्रुहरूले आवतजावत गरेका छन् । खासगरी चीनको सिचुवानमा लामो समय चार्टर्ड उडान भएको थियो भने ल्हासामा १ वर्षसम्म नियमित उडान गरिएको थियो । अरु केही देशहरुमा चार्टर्ड उडान भएका छन् ।