नेपाल राष्ट्र बैंकले ऋण लिनुअघि ध्यान दिनुपर्ने विभिन्न विषय समेट्दै सर्वसाधारणका लागि वित्तीय चेतनामूलक सन्देश सार्वजनिक गरेको छ।
राष्ट्र बैंकले ऋण लिनुअघि आफ्नो आम्दानी, सम्पत्ति र ऋण तिर्न सक्ने क्षमताको मूल्यांकन गर्न आग्रह गरेको छ। साथै, पहिले नै ऋण लिइसकेको अवस्थामा पुरानो ऋणको भार धान्न थप ऋण लिँदा आर्थिक जोखिम बढ्न सक्नेतर्फ सचेत गराएको छ।
ऋण लिँदा बैंक तथा वित्तीय संस्थाले उपलब्ध गराउने ब्याजदर, सेवा शुल्क, प्रक्रिया, अवधि र सर्तहरू तुलना गर्न पनि राष्ट्र बैंकले सुझाव दिएको छ। त्यस्तै, ब्याजदर स्थिर हो वा परिवर्तनशील भन्ने विषय स्पष्ट बुझ्न र आधार दर तथा प्रिमियम परिवर्तन हुँदा ब्याजदरमा पर्न सक्ने प्रभावबारे जानकारी लिन आग्रह गरेको छ।
ऋण सम्झौतामा हस्ताक्षर गर्नुअघि सबै सर्त राम्ररी पढ्न, समयमै किस्ता नतिरेमा लाग्ने विलम्ब शुल्क तथा चक्रवर्ती ब्याजबारे जानकारी लिन पनि राष्ट्र बैंकले सचेत गराएको छ।
यसैगरी, धितो राख्दा वा जमानी बस्दा त्यसको कानुनी दायित्व बुझ्न, ऋण लिएको रकम तोकिएको उद्देश्यमा मात्र प्रयोग गर्न र ऋणसँग सम्बन्धित बीमा तथा अन्य खर्चबारे जानकारी लिन सुझाव दिएको छ।
ऋण तिर्न समस्या भएमा बैंकसँग समयमै सम्पर्क गरी ऋणका सर्त पुनःपरिमार्जन गर्न सकिने सम्भावनाबारे बुझ्न पनि राष्ट्र बैंकले आग्रह गरेको छ।
त्यस्तै, बैंक तथा वित्तीय संस्थाबाट प्राप्त सेवामा समस्या वा असन्तुष्टि भए सम्बन्धित संस्थामा गुनासो गर्न र सुनुवाइ नभए राष्ट्र बैंकको अनलाइन गुनासो पोर्टलमार्फत उजुरी दिन सकिने व्यवस्था रहेको छ।
ऋण लिनु आर्थिक आवश्यकता हुन सक्छ, तर त्यसको सही व्यवस्थापन उत्तिकै महत्वपूर्ण छ। त्यसैले ऋण लिनुअघि सबै सर्त र जोखिम बुझेर आफ्नो आर्थिक क्षमताअनुसार मात्र ऋण लिन राष्ट्र बैंकले सर्वसाधारणलाई आग्रह गरेको छ।