काठमाडौँ। सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) काे प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा प्रताप सुवेदी नियुक्त भएका छन्।
अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो।
उनलाई आज अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नियुक्ति पत्र प्रदान गर्दै इमानदारीपूर्वक कार्य सम्पादन गर्न निर्देशन दिएका छन्।
नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुवेदीसँग कृषि विकास बैंक लिमिटेडमा कायममुकायम प्रमुख कार्यकारी अधिकृत तथा नायब महाप्रबन्धकको रूपमा लामो समय सफल नेतृत्वदायी कार्य गरेको अनुभव रहेको छ।
उनले त्रिभुवन विश्वविद्यालयबाट मार्केटिङ विषयमा एमबिए तथा बीएड हासिल गरेका छन्। विभिन्न वित्तीय संस्था, नियमनकारी निकाय र व्यवस्थापकीय क्षेत्रमा दुई दशकभन्दा बढीको व्यावसायिक अनुभव सँगालेका सुवेदीले नेको इन्स्योरेन्स लगायतका संस्थामा सञ्चालक समितिको सदस्यको रूपमा समेत जिम्मेवारी निभाएका छन्।