काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि संघीय संसदमा बिहीबार बजेट प्रस्तुत गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका हुन्।
सरकारले ल्याएको बजेटमा चालु खर्च ११ खर्ब ८० अर्ब ९८ करोड छ। पुँजीगत ४ खर्ब ७ अर्ब ८९ करोड रुपैयाँ विनियोजन गरिएको छ। वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७५ अर्ब २४ करोड विनियोजन भएको छ।
सरकारले आउँदो आर्थिक वर्षमा स्रोतका लागि राजस्वबाट १३ खर्ब १५ अर्ब रुपैयाँ उठाउने लक्ष्य राखेको छ। वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड आउने प्रक्षेपण गरिएको छ। त्यस्तै वैदेशिक ऋण २ खर्ब ३३ अर्ब ६४ करोड लिने र आन्तरिक ऋण ३ अर्ब ६२ करोड उठाउने भएको छ।
सरकारले यस वर्ष खास नयाँ कार्यक्रम ल्याएको छैन। कर्मचारीको तलब बढ्ने दाबी गरिए पनि महङ्गी भक्ता तीन हजारबाट पाँच हजार पुर्याइएको छ। त्यस्तै वृद्धाभक्ता पाउने उमेर दुई वर्ष थप गरिएको छ।
बिहीबार अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट प्रस्तुत गर्दै ६८ वर्षमा दिइदै आएको वृद्धाभक्तालाई ७० पुर्याएको हो।

