अछाम । अछामकाे ढकारी गाउँपालिकाको १५औं गाउँसभा अधिवेशन सुरु हुँने भएकाे छ। गाउँसभा अधिवेशन असार ३ गते बिहान ११ बजेदेखि सुरु हुँने छ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १९(२) तथा सुदूरपश्चिम प्रदेशको गाउँसभा तथा नगरसभा कार्यसञ्चालन ऐन, २०७५ बमोजिम गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर साउदको निर्देशनमा सभा आह्वान गरिएको हो।
गाउँपालिका सभाहलमा बस्ने उक्त बैठकमा महत्वपूर्ण नीति तथा कार्यक्रम प्रस्तुत गरिनुका साथै समसामयिक विषयमा छलफल हुने कार्यक्रम रहेको छ। बैठकका मुख्य कार्यसूचीहरूमा आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने, आचारसंहिताबारे जानकारी दिने, शुभकामना मन्तव्य, शून्य तथा विशेष समयमा छलफल, र विविध विषय समावेश गरिएका छन्।
गाउँसभामा शून्य समयमा बोल्ने सदस्यहरूले बैठक सुरु हुनु ४८ घण्टा अगावै नाम टिपाउनुपर्ने सूचना दिइएको छ। गाउँपालिकाका अध्यक्ष साउदले सभाको अन्त्यमा समापन मन्तव्य दिने कार्यक्रम रहेको छ। स्थानीय तहको नीति निर्माण र विकासका लागि अत्यन्त महत्वपूर्ण मानिने गाउँसभा अधिवेशनमा यस वर्ष विशेष ध्यान केन्द्रित गरिने विषयहरूमा सेवा प्रवाह, पूर्वाधार निर्माण, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य र समावेशी योजनाहरू रहेका छन्।


