काठमाडौँ। रसुवाको ल्हेन्देखोलामा आएको बाढीका कारण भएको क्षतिबाट २८ करोड ९२ लाख ६० हजार रुपैया बराबरको प्रारम्भिक बिमा दाबी गरिएको छ ।
नेपाल बिमा प्राधिकरणका अनुसार विभिन्न ७ बिमा कम्पनीमा सो बराबरको दाबी परेको हो । जसमध्ये शिखर इन्स्योरेन्स कम्पनीमा १६ करोड १२ लाख १० हजार रुपैयाँ बराबरको १० वटा दाबी परेको छ ।
त्यस्तै, नेको इन्स्योरेन्समा ५ च करोड २० लाख बराबरको तीन वटा, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ३ करोड ४१ लाख ५० हजार बराबरको सात वटा दाबी परेको छ । नेपाल इन्स्योरेन्स कम्पनीमा १ करोड २८ लाख ५० हजार बराबरको १२ वटा, सानिमा जीआइसी इन्स्योरेन्समा ७७ लाख बराबरको ६ वटा, आइजीआई प्रूडेन्सियलमा ७५ लाख ५० हजार बराबरको नौ वटा बिमा दाबीको आवेदन परेको प्राधिकरणले जनाएको छ ।
त्यसैगरी, युनाइटेड अजोडमा ६८ लाख बराबरको तीन वटा, एनएलजी इन्स्योरेन्समा ४७ लाख बराबरको ६ वटा, सिद्धार्थ प्रिमियरमा ३१ लाख बराबरको सात वटा गरी कूल ६३ वटा बिमा दाबी परेको प्राधिकरणले जनाएको छ ।
रसुवाको ल्हेन्देखोलामा आएको बाढीका कारण नेपाल चीन जोड्ने मितेरी पुल, सीमामा अवस्थित निर्माणाधीन ड्राइपोर्ट, भन्सार कार्यालय र आसपासमा पार्किङ गरिएका सवारीसाधन बगाएको छ भने रसुवागढी जलविद्युत् आयोजनालगायतका अन्य भौतिक पूर्वाधारमा क्षति पुगेको छ ।

