Artha Update
नेभिगेशन

एजेन्सी । युरोपको पूर्वी किनारमा अवस्थित रोमानिया अमेरिकाकी नयाँ प्रशासनको ध्यानाकर्षणको केन्द्र बनेको छ । जसलाई आश्चर्यजनक मानिएको छ ।

विशेष गरी यसको प्राथमिक विदेश नीति युक्रेनको युद्ध अन्त्य गर्ने, मध्यपूर्वलाई पुनःपरिभाषित गर्ने र अमेरिकी क्षेत्र विस्तार गर्ने जस्ता विषयमा केन्द्रित भएकाले यो आश्चर्यको विषय हो ।

सधै चर्चाको बाहिर रहने रोमानियाली जनता आफ्नो राजनीतिप्रति ट्रम्प प्रशासनको चासो देखेर आश्चर्यचकित भएका छन् । किनकि सामान्यत: अन्तर्राष्ट्रिय मञ्चमा यो देशको मामिला कमै मात्र उठान गरिन्छ ।

‘यस प्रकारको चासो अभूतपूर्व छ,’ बुखारेस्टस्थित थिंक ट्यांक ग्लोबलफोकस सेन्टरकी निर्देशक ओआना पोपेस्कु जाम्फिर भन्छिन् । उनले सोभियत संघपछिको रोमानियाको इतिहासमा यसरी बाहिरी चासो कहिल्यै नदेखिएको बताइन् ।

ध्यानको केन्द्रमा रहेको मुख्य विषय भनेको कालिन जोर्जेस्कु हुन् । उनी क्रेमलिन समर्थक अतिराष्ट्रवादी उम्मेदवार थिए । तर गत वर्ष रोमानियाको राष्ट्रपतीय चुनाव अचानक रद्द गरियो । त्यस्तै, अर्को व्यक्ति एन्ड्र्यु टेट हुन्, जो ‘म्यानोस्फेयर’ सेलिब्रिटी हुन् र उनलाई रोमानियाली अधिकारीहरूले बलात्कार तथा मानव तस्करीको आरोपमा अभियोग लगाएका छन् । तर उक्त आरोप उनले अस्वीकार गरेका छन् ।

यी दुई व्यक्तिहरू एकअर्कासँग कुनै सम्बन्ध नभए पनि दुवैले आफूलाई ‘उदारवादी संस्थाहरू’ द्वारा गरिएको षड्यन्त्रको सिकार भएको दाबी गरेका छन्। ट्रम्पको जस्तै, आफूहरूलाई पनि ‘विद्रोह’ गरिएको बताउँदै अमेरिकी रूढीवादी समूहहरूले उनीहरूको समर्थन गरेका छन् ।

जोर्जेस्कुका समर्थकहरू ‘विदेशी हस्तक्षेप’ को कमजोर आधारमा उनलाई चुनाव जित्नबाट रोकिएको बताउँछन् । त्यस्तै, टेटका समर्थकहरू उनीविरुद्ध झुटा मुद्दाहरू लगाइएको दाबी गर्छन् ।

रोमानियाले टेटको यात्रा प्रतिबन्ध हटाएपछि उनले आफ्नो आरोपहरू ट्रम्पका मुद्दाहरूसँग तुलना गरे । उनले भने, ‘ट्रम्पलाई याद गर, उनले झेलेका आरोपहरू सम्झ, उनी निर्दोष थिए ।’ उनले ट्रम्पलाई नेल्सन मन्डेला र मालेकम एक्ससँग तुलना गर्दै भने, ‘इतिहासका महान पुरुषहरूले यस्तो अन्याय खेप्नुपरेको छ ।’

जोर्जेस्कु अघिल्लो वर्षसम्म ट्रम्पको आलोचना गर्थे । तर पछि ट्रम्पको लोकप्रियता प्रयोग गर्ने रणनीतिमा लागे । अक्सफोर्ड विश्वविद्यालयका डिजिटल कूटनीतिक प्राध्यापक कोर्नेलिउ बिजोलाका अनुसार, ‘उनी (जोर्जेस्कु) षड्यन्त्र, गलत सूचना र व्यक्तिगत हमलामा आधारित राजनीतिक शैली अपनाउँदै छन् जुन नियमविहीन देखिन्छ ।’

अमेरिकी चासो किन ?

ट्रम्प प्रशासनले जोर्जेस्कुलाई सत्तामा ल्याउन चाहनुको कारण के हो ? र किन अमेरिकी अधिकारीहरूले टेट बन्धुहरूको रिहाइमा कूटनीतिक प्रयास गरेका हुन् ?

फाइनान्सियल टाइम्सका अनुसार ट्रम्पका विशेष दूत रिचर्ड ग्रेनेलले म्युनिख सुरक्षा सम्मेलनमा रोमानियाका विदेशमन्त्रीलाई टेट बन्धुहरूलाई राहत दिन दबाब दिएका थिए । तर, रोमानियाली विदेश मन्त्रालयले यस्तो कुनै दबाब आएको दाबी गरेको छ ।

यो घटना भएको दुई हप्ताभित्रै रोमानियाले टेट बन्धुहरूको यात्रा प्रतिबन्ध हटायो ।

‘किन यस्तो अपराधीहरूलाई मुक्त गरियो ?’ बिजोला भन्छन् । ‘पहिले अमेरिका अलेक्जान्डर सोल्झेन्स्तिन र लेच वास्लास जस्ता व्यक्तिहरूको समर्थन गर्थ्यो, तर अहिले यौन शोषणका आरोपीहरूको संरक्षण गर्दैछ ।’

ट्रम्प प्रशासनको रणनीति

राजनीतिक विश्लेषकहरूका अनुसार ट्रम्प प्रशासनको यो चासो केवल टेट वा जोर्जेस्कुका कारण होइन बरु यो यूरोपियन युनियनलाई कमजोर बनाउने ठूलो रणनीतिको हिस्सा हो ।

ट्रम्प प्रशासनलाई यूरोपियन युनियन मन पर्दैन । ट्रम्पले ईयूलाई अमेरिकालाई ‘धोका दिन बनाइएको संस्था’ भनेका थिए ।

अमेरिकी रूढीवादीहरूले जोर्जेस्कुलाई ‘यूरोपेली लोकतन्त्रमा भएको अन्यायको प्रतिक’ का रूपमा देखिरहेका छन् । षड्यन्त्र सिद्धान्तकार एलेक्स जोन्सले भने, ‘यो एक शताब्दीकै सबैभन्दा स्पष्ट तख्तापलट हो ।’

यस प्रकार जोर्जेस्कुले रोमानियामा मात्र होइन अमेरिकामा पनि ट्रम्प समर्थकहरूलाई प्रभावित पार्न सफल भएका छन् ।

रोमानियाको प्रतिक्रिया

यस सम्पूर्ण घटनाले रोमानियामा ठूलो असर पारेको छ। केही जोर्जेस्कुका समर्थकहरू उनलाई चुनावबाट हटाइएकामा क्रोधित छन्, भने केही टेट बन्धुहरूलाई सजाय नहुने डरले चिन्तित छन् ।

ग्लोबलफोकस सेन्टरकी पोपेस्कु जाम्फिर भन्छिन्, ‘कम्युनिजम पतन भएदेखि पहिलो पटक रोमानियाले पश्चिमी मार्गलाई आत्मसात गरेको छ, त्यो पनि बाहिरी दबाबका कारण होइन, बरु यसको विरुद्ध गएर ।’

तर, अक्सफोर्डका बिजोलाका अनुसार रोमानियाली सरकार अझै पनि स्पष्ट रूपमा बताउन असफल भइरहेको छ कि जोर्जेस्कुलाई उम्मेदवार बन्न किन निषेध गरियो।

‘डिजिटल युगमा मौनता खतरनाक हुन्छ,’ उनी भन्छन्, ‘यदि सरकारले खुलेर बोलेन भने, यो खाली स्थान रूसी समर्थक र अन्य प्रचारकर्ताहरूले भरिनेछन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय