Artha Update
नेभिगेशन

काठमाडौं। नेपाल राष्ट्र बैंकले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुले संकलन गर्ने बचतको सीमा तोकेको छ । अब एक जिल्ला कार्यक्षेत्र भएको सहकरीले एक सदस्यबाट बढीमा १० लाख रुपैयाँसम्मको मात्रै बचत लिन पाउने भएको छ । राष्ट्र बैंकले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुका लागि जारी गरिएको निर्देशन तथा मापदण्डमा उक्त व्यवस्था गरेको हो ।

त्यस्तै एकभन्दा बढी जिल्लामा कार्यक्षेत्र भएको सहकरीको प्रतिव्यक्ति बचत सीमा २५ लाख रुपैयाँ र एक प्रदेशभन्दा बढी कार्यक्षेत्र भएको सहकारीलाई ५० लाख रुपैयाँको अधिकतम बचत सीमा तोकेको हो । २०८१ पुस १४ अघि कायम रहेको बचतको हकमा दुई वर्षभित्र सीमाभित्र ल्याइसक्नुपर्ने छ ।

मापदण्डअनुसार संस्थाले सदस्यहरुबाट मात्र बचत संकलन गर्न सक्ने छन् भने संस्थाले प्राथमिक पुँजी कोषको १५ गुणासम्म बचत संकलन गर्न सक्नेछ । सहकारीले बैंक तथा वित्तीय संस्थाबाट कुल सम्पत्तिको ५ प्रतिशतसम्म मात्रै ऋण लिन पाउने र यसरी लिने ऋण पुँजी कोषको बढीमा १०० प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था गरेको हो ।

सदस्यले १० लाख रुपैयाँभन्दा बढी बचत रकम जम्मा गर्दा अनिवार्य रुपमा स्रोत खुलाउनु पर्नेछ । वित्तीय स्रोत संकलन सीमा अनुगमन गर्ने प्रयोजनका लागि अघिल्लो त्रयमासमा कायम रहेको प्राथमिक पुँजीकोष, पुँजीकोष र सम्पत्तिलाई आधार मानिनेछ ।

सदस्यबाट मात्र निक्षेप संकलन गर्नुपर्ने र प्राथमिक पूँजी कोषको १५ गुणासम्म बचत संकलन गर्न सक्नेछ भने संस्थाको कुल सम्पत्तिको पाँच प्रतिशत ऋण लिन सक्ने तर पुँजी कोषको बढीमा सय प्रतिशत भन्दा बढी ऋण लिन नपाईने व्यवस्था गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय