काठमाडौं । तीनकुनेस्थित एक घरमा भएको आगलागी घटनामा संलग्न भएको आशंकामा पत्रकार तथा धार्मिक अभियन्ता एनी कुँवर पक्राउ परेकी छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले आज पक्राउ गरेको हो।
सामाजिक सञ्जालमा सार्वजनिक एक भिडियोमा आगलागी भएको घरको भर्याङबाट कुँवर ओर्लिरहेको देखिएको छ। सोही घरमा पत्रकार सुरेश रजक जलेका थिए। यसै आधारमा घटनामा कुँवरको संलग्नता हुन सक्ने आशंका गरिएको हो।
कुँवरले भने आफूले घटनास्थलमा सुरेश रजकलाई नदेखेको दाबी गरेकी थिइन्। तर, प्रहरीले अनुसन्धानका क्रममा उनी अनधिकृत रूपमा उक्त घरभित्र प्रवेश गरेको पुष्टि भएको बताएको छ।
“कुनै व्यक्तिले अर्काको घरमा अनधिकृत रूपमा प्रवेश गरेको पुष्टि भइसकेपछि उसलाई पूर्णतः निर्दोष भन्न सकिँदैन,।” प्रहरी स्रोतले भन्यो ।