ढकारी । अछाम जिल्लाको ढकारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ४३ करोड २ लाख २ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
मंगलबार सम्पन्न १५औँ गाउँसभामा उपाध्यक्ष नेत्रकलादेवी शाहीले प्रस्तुत गरेअनुसार, उक्त बजेटमध्ये चालु तर्फ ३४ करोड १२ लाख ७१ हजार ६ सय रुपैयाँ र पुँजीगत तर्फ ८ करोड ३९ लाख ३० हजार ४ सय रुपैयाँ विनियोजन गरिएको छ।

आगामी बजेट चालु आर्थिक वर्षको भन्दा करिब दुई करोड २० लाख ६३ हजार सात सयले बढी हो । ढकारीले ०८२/०८३ का लागि पालिकाका आठ वडाका लागि दुई करोड १२ लाख ४९ हजार विनियोजन गरेको छ ।
आर्थिक विकासका लागि ३३ लाख ३३ हजार बजेट छुट्याएको ढकारीले सामाजिक विकासका लागि पाँच करोड ३९ लाख १० हजार बजेट विनियोजन गरेको छ । यस्तै पूर्वाधार विकासतर्फ पाँच करोड पाँच लाख ७१ हजार विनियोजन गरिएको छ ।

वडा तहमा विनियोजन गरिएको बजेटअन्तर्गत वडा नम्बर १ र २ मा १६-१६ योजना, वडा नम्बर ३ मा २१, वडा नम्बर ४ मा १०, वडा नम्बर ५ मा १०, वडा नम्बर ६ मा १७, वडा नम्बर ७ मा १० र वडा नम्बर ८ मा तीनवटा योजना पारित गरिएको छ ।
कृषि विकास, पशु सेवा, स्वास्थ्य, उद्यम विकास, विपद् व्यवस्थापन, सहकारी, शिक्षा युवा तथा खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, पोषण, भूमि व्यवस्थापन र स्वरोजगार जस्ता विषयलाई मुख्य प्राथमिक्तामा राखिएको गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउँदले बताएका छन् । उनले यो वर्ष गाउँपालिकाले सुत्केरी महिलाका लागि महत्वकांक्षी कार्यक्रम सुरु गरेको छ । उनीहरूका लागि हातको हात सुत्केरी खर्च उपलब्ध गराइने छ ।

अध्यक्ष साउँदका अनुसार नियमित गर्भ जाँच गराएर सुत्केरी हुने महिलाको हक दुई हजार आठ सय र संस्थागत सुत्केरी मात्र भएकाको हकमा दुई हजार उपलब्ध गराइने छ । ढकारीले यसअघिदेखि नै गर्भवतीका लागि एक हजारका दरले भत्ता दिँदै आएको छ । स्वास्थ्यतर्फ नै गर्भवती महिलाकै लागि भिडियो एक्सरे सेवा पनि सुरु गर्न लागिएको साउँदले बताए ।