झन्डै ६ महिनादेखि रोकिएको नेपाल बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिईओ) नियुक्ति प्रक्रिया अधि बढाइएको छ। अर्थ मन्त्रालयका सह सचिव महेश भट्टराई नेतृत्वको सिफारिस समितिको आजको बैठकले बैँकका तीन जना एसिईओ लाई रिक्त डेपुटी सिईओ पदमा सिफारिस गरेको हो।
समितिले बैँकका एसिईओ प्रकाश अधिकारी, विश्वराज बराल र होम बहादुर खड्कालाई सिफारिस गरेको छ। सम्भवत: आइतबार बस्ने बैँक संचालक समितिले डेपुटी सिईओ नियुक्त गर्नेछ। प्राप्त कार्यसम्पादन मुल्यांकन प्रतिवेदनअनुसार योग्यता, अनुभव र प्रस्तुतीकरणका आधारमा अधिकारी सबैभन्दा अगाडि देखिएका छन् भने बराल दोस्रो र खड्का पछिल्लो स्थानमा छन्।
सिफारिस समितिले तयार पारेको सूची आइतबार बस्ने बैंक सञ्चालक समितिको बैठकमा पेश हुने छ। सो बैठकले डेपुटी सिईओ नियुक्ति गर्ने सम्भावना उच्च रहेको बैंक स्रोतले जनाएको छ। सरकारी स्वामित्वको नेपाल बैंकमा करिब छ महिनादेखि डेपुटी सिईओ पद रिक्त रहँदै आएको छ।