Artha Update
नेभिगेशन

काठमाडौँ । संविधान, संघीयता र गणतन्त्र जस्ता ऐतिहासिक राजनीतिक परिवर्तनपछि पनि जनताको दैनिक जीवनमा अपेक्षित सुधार नआएको भन्दै नेपालका ग्रामीण क्षेत्रहरूमा नयाँ राजनीतिक चेतनाको विकास भइरहेको छ। गाउँ-गाउँमा वैकल्पिक राजनीति र नयाँ नेतृत्वको खोजलाई तीव्र बनाएको छ।

हालको राजनीतिक अवस्थाले दल परिवर्तनले मात्र देश परिवर्तन नहुने कठोर सत्य उजागर गरेको टिप्पणी गरिन्छ। अनुहार फेरिए पनि सोच र कार्यशैली नफेरिँदा परिणाम उस्तै रहने देखिएको छ। यही कारण युवापुस्ता परम्परागत राजनीतिबाट विमुख हुँदै गएको भए पनि यसलाई राजनीतिक चेतनाको अन्त्य होइन, नयाँ किसिमको राजनीतिक खोजका रूपमा लिइनुपर्ने जानकारहरूको धारणा छ।

ग्रामीण भेगमा स्वतःस्फूर्त रूपमा भइरहेका भेला, छलफल र सामूहिक पहलहरू यसै खोजका संकेत मानिन्छन्। यी गतिविधिहरू कुनै दलको निर्देशनमा नभई जिम्मेवारीबोध, सहकार्य र स्थानीय आवश्यकताबाट प्रेरित देखिन्छन्। यहाँ राजनीति भाषणमा सीमित नभई व्यवहारमा उतारिएको छ भने विकास नाराभन्दा श्रम र सहभागितामा आधारित छ।

संघीय संरचनाले स्थानीय तहलाई अधिकार दिए पनि नेतृत्वको चरित्र, क्षमता र पारदर्शिताबिनाको संघीयता प्रभावहीन हुने विश्लेषण गरिएको छ। गाउँमै बसेर जनताको दुःख बुझ्ने, स्रोतको सही उपयोग गर्ने र जवाफदेही नेतृत्व बिना संघीयता खोक्रो संरचना मात्र बन्ने चेतावनी दिइएको छ।

ग्रामीण विकासलाई केवल सडक, भवन र बजेटसँग मात्र जोडेर हेर्ने प्रवृत्तिको पनि आलोचना गरिएको छ। वास्तविक विकास चेतनामा हुने, किसान आत्मनिर्भर बन्ने, युवाले आफ्नै ठाउँमा भविष्य देख्ने, शिक्षा सीपसँग जोडिने र स्वास्थ्य सेवा सहज पहुँचमा पुग्ने अवस्थालाई नै अर्थपूर्ण विकास मान्नुपर्नेमा जोड दिइएको छ। यस्तो विकास माथिबाट थोपरेर होइन, स्थानीय तहबाटै निर्माण गर्नुपर्ने भनाइ छ।

राजनीतिले युवालाई केवल मतदाता मानेर साझेदार नठान्दा राजनीतिको विश्वसनीयता कमजोर बनेको पनि उल्लेख गरिएको छ। तर ग्रामीण युवामा अपार सम्भावना रहेको र उनीहरू प्रविधिसँग जोडिएका, विश्वबोध भएका तथा प्रश्न गर्न सक्ने क्षमता राख्ने भएकाले सही दिशामा संगठित भए देशको राजनीतिक दिशा नै बदल्न सक्ने विश्वास व्यक्त गरिएको छ।

दल-निरपेक्ष, जनउत्तरदायी र सेवामुखी नेतृत्वको बहस आज झनै सान्दर्भिक बनेको निष्कर्ष निकालिएको छ। विकास कुनै एक दलको एजेन्डा नभई साझा आवश्यकता भएकाले नेतृत्वले दलको आदेशभन्दा जनताको आवाजलाई प्राथमिकता दिनुपर्ने धारणा राखिएको छ। ग्रामीण परिवेशमा हुर्किएका, संघर्ष र सामूहिकताको मूल्य बुझेका व्यक्तिहरू नै उत्तरदायी नेतृत्वका आधार बन्न सक्ने विश्लेषण गरिएको छ।

नेपालको भविष्य कुनै एक दल, एक नेता वा एक सरकारमा सीमित नरही सचेत नागरिक, जिम्मेवार नेतृत्व र सामूहिक प्रतिबद्धतामा निर्भर रहने निष्कर्ष निकालिएको छ। गाउँमै बसेर सोच्ने, छलफल गर्ने र काम गर्ने समूहहरू नै भोलिका राजनीतिक विकल्प भएको उल्लेख गर्दै, यिनै समूहबाट उदाउने नेतृत्वले क्रमशः राष्ट्र निर्माणको यात्रालाई दिशा दिने विश्वास व्यक्त गरिएको छ।
यदि राजनीति गाउँबाटै इमानदारीका साथ सुरु गरियो भने परिवर्तन टाढा छैन, विश्लेषणमा भनिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय